जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे केन्द्र सरकारले माग्यो तीन दिने स्पष्टिकरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे स्पष्टिकरण मागेको छ।

मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन्? भन्ने तीन दिनभित्र स्पष्टिकरण दिन सोमबार निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रममा  राखिएको नेपालको झन्डाको स्वरूप बिगारिएको थियो। वैशाख २८ गते दुबै प्रधानमन्त्रीले सो कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।

प्रवक्ता अधिकारीले प्रदेश नम्बर २ का प्रमुख सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टिकरण दिन पत्र पठाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *