सन्दीप र सचिनको उस्तै संयोग!

नाकाबन्दी लगाएर सारा नेपालीलाई चिढाएको आफ्नो छवि सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अातुर थिए। मौका खोजिरेहेका उनले सन्दीप लामिछानेले आइपिएल खेल्न आवेदन दिएको थाहा पाए। तुरुन्तै दिल्ली डेअरडेभिल्सको लगानीकर्ता जिएमआरलाई सन्देश पठाए।

९०० मेगा वाटको माथिल्लो कर्णालीमा लगानी गरिरहेको भारतीय कम्पनी जिएमआरले अाफ्नो कुरा मान्छ भन्नेमा मोदी ढुक्कै थिए। उनले सन्दीपलाई जसरी पनि किन्नु भन्ने निर्देशन दिए। मोदीकै निर्देशनअनुसार दिल्ली डेअरडेभिल्सले सन्दीपलाई किन्यो।

अब केपी ओलीले प्रधानमन्त्रीका रूमपा गर्ने भारत भ्रमणका बेला दिल्लीमा हुने एउटा आइपिएल म्याचमा मोदीले सन्दीपलाई खेलाउन लगाउने छन् र ओलीसँगै बसेर क्रिकेट हेर्नेछन्।

यो गत आइतबार आइपिएल अक्सनमा नेपाली किशोर क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेअरडेभिल्सले किनेपछि चलेको हल्ला हो।

षडयन्त्रका कथा र ‘ग्रान्ड डिजाइन’ सजिलै पत्याइ हाल्ने हामी नेपालीलाई कसैले यो कथा बुनेर सुनायो भने भन्नुहोला– त्यो फजुल कुरा हो।

सन्दीपलाई कसैको सिफारिश वा दया देखाएर दिल्ली डेअरडेभिल्सले किनेको होइन।

आफ्नै क्षमता र ल्याकतले सन्दीप दिल्लीको टीममा परेका हुन्। यसको ठूलो र दुरगामी अर्थ छ।

सन्दीपले पहिलो पटक २०१६ मा बंगलादेशमा भएको अन्डर-१९ विश्वकपमा अाफ्नो छाप छोडेका हुन्। त्यो विश्वकपमा सन्दीपले ६ खेलमा १४ विकेट लिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सुचीमा दोस्रो नम्बरमा परे।

सन्दीपले यी विकेट बलिया टिमविरुद्ध लिएका थिए। उनले खेलेका ६ मध्ये ४ खेलमा भारत, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेशसँग नेपाल भिडेको थियो।

प्रतियोगितामबाट सन्दीपसँगै पाकिस्तानका शदाब खान र अफगानिस्तानका रशीद खान चर्चामा आए। यी तीनै जना लेग स्पीनर हुन्। तीन जनामा सन्दीपको प्रदर्शन सबैभन्दा राम्रो थियो। पाकिस्तानसँगको खेलमा त उनले शदाबलाई ओझेलमा पारिदिएका थिए। नेपालले पाकिस्तानसँग हारे पनि सन्दीपले ३ विकेट लिएका थिए। एक विकेट पनि लिन नसकेका शदाबले ४ ओभरमा प्रभावहीन भएपछि बलिङ नै गरेनन्। पाकिस्तानसँगको यही खेलमा सन्दीपको एक ओभरका ६ वटै बलमा ब्याट्सम्यानलाई अवाक् परेको भिडियो पोस्ट गर्दै बिबिसीले सोधेको थियो- के यिनी नेपाली सेन वार्न हुन्?

शदाब अहिले पाकिस्तानको सिनियर टिममा नियमित रूपमा खेल्न थालिसकेका छन्। अफगानिस्तानका रशिदलाई यसपालिको आइपिएल अक्सनमा सनराइजर्स हैदरावादले ९ करोड भारुमा किनेको छ।

सन्दीप, शदाब र रशिदभन्दा २ वर्ष कान्छा छन्। उनी १७ वर्षका भए। त्यसैले क्रिकेटमा फक्रने समयमा उनीसँग धेरै छ। उनी क्रिकेटमा धेरै वर्ष रहनेछन्।

त्यसैले दिल्लीले सन्दीपको असीमित सम्भावनामा लगानी गरेको हो।

एउटा कुरा पक्का छ—आइपिएलका टोलीले खेलाडीको प्रदर्शनको हेर्न खटाउने ‘स्काउटका’ नजरमा सन्दीप परेका होइनन्। पूर्वअष्ट्रेलियन कप्तान माइकल क्लार्कले आफ्ना कप्तान (क्लार्क उपकप्तान हुँदा पोन्टिङ अष्ट्रेलियाको राष्ट्रिय टोलीका कप्तान थिए) र अहिले दिल्ली डेअरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङलाई सन्दीपको बलिङ एकचोटि हेर्नू भने होलान्। तर त्यही सिफारिशकै कारण दिल्लीले उनलाई किन्यो भन्नु सन्दीपको क्षमताप्रतिको अन्याय हो। दिल्ली डेअरडेभिल्स एउटा व्यवसायीक टिम हो र उसको लक्ष्य आइपिएल जित्ने हुन्छ। त्यसका लागि उसले सकेसम्म राम्रा खेलाडी किन्छ।

सिफारिश र ‘सेन्टिमेन्ट’का कारण किन्ने भए दिल्लीले अरूलाई नै किन्थ्यो होला। बैंगलुरूमा भएको आइपिएल अक्सनको पहिलो दिन जोहान्नसवर्गमा दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्ट म्याचमा इशान्त शर्माले डिन एल्गार र हशिम अमलाको दोस्रो विकेटका लागि भएको ११९ रनको साझेदारी तोडे।

त्यति मात्र होइन, शर्माले कप्तान फाफ डुप्लेसिसलाई समेत बोल्ड गरेर जीतको ढोका खोले। तर फास्ट बलर शर्मा लिलामीको दोस्रो दिनसमेत बिक्री भएनन्।

अझ सन्दीप त विदेशी खेलाडी। बढीमा आठ जना मात्रै विदेशी किन्न पाउने नियम भएकाले सन्दीपको खेल्ने सम्भावना शुन्य भएको भए दिल्लीले पक्कै कुनै नाम चलेको विदेशी खेलाडी किन्ने थियो होला।

हामीले के भुल्नु हुन्न भने ११ जनाको खेल्ने सेटमा ४ र पूरै टोलीमा ८ जना मात्र विदेशी राख्न पाउँछन्। गएको दशकको सर्वोत्कृष्ट र सर्वकालीन महान फास्ट बलरमध्येका दक्षिण अफ्रिकाका डेल स्टेन, इङग्ल्याण्डका दोस्रो विश्वयुद्धपछिकै सर्वोत्कृष्ट ब्याट्सम्यान भनेर दरिने जो रुट र हाल अष्ट्रेलियाका सबैभन्दा राम्रा बलर मानिने जस हेजलउडजस्ता खेलाडीलाई यसपालिको लिलामीमा कसैले पत्याएन। विदेशी मात्रै होइन धेरै प्रतिभावान् भारतीय खेलाडी पनि आइपिएलमा परेनन्।

सन्दीपको जस्तै आफ्नो आधार मूल्य २० लाख भारू मात्रै राखेका २०१२ को अन्डर-१९ विश्वकपको फाइनलमा अष्ट्रेलियाविरुद्ध अविजित शतक हानेर भारतलाई जिताएका कप्तान उन्मुक्त चन्दलाई पनि यसपालि कसैले किनेन।

इङग्ल्याण्डका पूर्वकप्तान नासिर हुसेनले लिलामीको दिन स्काइस्पोर्टस् च्यानलमा भनेझैं कसैले माने पनि नमाने पनि आइपिएल अहिलेको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो। विश्वका हरेक क्रिकेट खेलाडी आइपिएलमा पाइने पैसा र खेलको स्तरका कारण योसँग जोडिन चाहन्छन्।

त्यसैले दिल्ली डेअरडेभिल्सले सन्दीपलाई किन्नु मात्रै पनि उनको र नेपाली क्रिकेटका लागि कोसेढुङगा हो। आइपिएलसम्म पुग्नु भनेको सन्दीप विश्वका उत्कृष्ट खेलाडीसँग खेल्न सक्ने स्तरका खेलाडी हुन् भन्ने प्रमाण हो। नेपालमा क्रिकेट संघको नालायकी र नेपाली क्रिकेटको अस्तव्यस्तताका वाबजुद् उनी आइपिएलमा छानिए। त्यसले उनीसँगै खेल्ने राष्ट्रिय खेलाडी र उनीभन्दा अझै कम उमेरका नेपाली क्रिकेटरको आँखामा सपना भरिदिएको छ।

आलोचना गर्नेले सन्दीपले आइपिएल खेलेर त्यसमा उत्कृष्ट प्रदर्शन गरे नै भने पनि त्यसले देशलाई के फाइदा हुन्छ भन्लान्। उसो त खेलकुद समय र पैसाको बर्बादी गर्ने बेकारको चिज हो भन्ने मान्यता राख्ने नेपालमा धेरै छन्। सन्दीपको सफलताले प्रत्यक्ष रूपमा देशलाई कुनै लाभ नहोला। तर खेलकुदमा हासिल गरेको सफलताले विषम परिस्थिति झेलिरहेका मुलुकको आत्मविश्वास बढाउने र केही समयका लागि भए पनि आन्तरिक एकता मजवुद् गर्ने गरेका प्रशस्त उदाहरण छन्।

२००३ मा अमेरिकी आक्रमणले ध्वस्त भएको इराकले २००७ को एएफसी एसियन कप जित्दा इराकीहरूलाई ठूलो राहत महशुस गरे।

पाकिस्तानले २००९ को टी-ट्वन्टी विश्वकप क्रिकेट जित्दा एक पाकिस्तानी मन्त्रीले ‘हेभन सेन्ट गिफ्ट’ अर्थात् पाकिस्तानका लागि स्वर्गबाट आएको उपहार भनेका थिए।

२०१६ मा भारतमा भएको दक्षिण एशियाली खेलकुदको फुटबलमा भारतलाई नै हराएर स्वर्ण पदक जित्दा भारतको नाकबन्दीले थलिएका नेपालीले ठूलो मनोवैज्ञानिक राहत पाए। कतिले त यो जीतलाई नाकाबन्दीको बदलाका रूपमा मनाए।

भारतमा सचिन तेन्दुलकर र अर्थतन्त्रको उदय एउटै समयमा भएको सुखद संयोगका रूपमा हेरिन्छ।

सन् १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्दा सचिन १६ वर्षका थिए। १९९२ को विश्वकपमा दुनियाँलाई खेलको जादू देखाएर सचिन तेन्दुलकर क्रिकेटमा स्थापित भए।

उता सन् १९९१ मा भारतमा आर्थिक संकट गहिरिँदै गएर सरकार टाट पल्टिने अवस्थामा पुगेको थियो। विदेशी मुद्राको सञ्चिति घटेर एक महिनाको आयात पनि धान्ने अवस्था थिएन। अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिँदा जमानी राख्न भारतले हवाइजहाजमा हालेर सुनसम्म पठाउनु परेको थियो।

मनमोहन सिंहले वित्त मन्त्रीका रुपमा सुरू गरेको आर्थिक सुधार र सचिनको क्रिकेट जगतमा उदय लगभग सँगसँगै भएको थियो। सचिनको क्रिकेटमा उदयले धेरै भारतीयलाई सुखद अनुभुति मात्र दिएन, अात्मविश्वास पनि भरिदियो।

सचिन विश्वका उत्कृष्ट बलरलाई धूलो चटाउने आक्रमक ब्याटिङको क्षमता राख्थे। त्यसैले विश्वको सर्वोत्कृष्ट ब्याट्सम्यानका रूपमा सचिनको उदय भयो। त्यसले भर्खरै आर्थिक संकटबाट तंग्रिएको देशका एक अर्ब जनसंख्याको मनोबल बढाएको मान्नेहरू धेरै छन्।

सचिन रातारात भारतका नयाँ अनुहार भए। २० वर्ष पनि नपुगेको एउटा ठिटो विश्वको सर्वोत्कृष्ट ब्याट्सम्यान बन्न सक्छ भने केही पनि असम्भव छैन भन्ने हौसला भारतको मध्यम वर्गले पायो । २१ औं शताब्दीको पहिलो दशकसम्म पनि सचिनको रनको चाङ र शेयर बजारले छुने नयाँ उचाइको ‘वक्ररेखा’को तुलना हुने गर्थ्यो।

तीव्र गतितमा विकास गरिरहेको चीनले पनि आफ्नो साखका लागि १९९० को दशकदेखि खेलकुदमा लगानी विस्तार गर्‍यो। २००८ मा त व्यापक खर्च गरेर बेइजिङमा ओलम्पिक आयोजना गरी पदक तालिकामा शीर्ष स्थान नै हासिल गर्‍यो। अहिले पनि ओलम्पिकमा पदक जित्नेमा चीन अग्रपंक्तिमै पर्छ।

अहिले सन्दीप आइपिएलका लागि किनिएका पहिलो नेपाली भएझैं २००२ मा याओ मिङ एनबिएका लागि किनिएका पहिलो चिनियाँ बास्केटबल खेलाडी थिए।

दिल्ली डेअरडेभिल्सले सन्दीपको प्रतिभा हेरेर किनेजस्तै याओ मिङलाई पनि उनको खेल कौशलकै कारण ह्युस्टन रकेट्सले किनेको थियो। उनले ह्युस्टन रकेट्सका लागि एकदमै राम्रो खेले। सारा चीनले मिङको खेल उत्साहसाथ हेर्‍यो। ह्युस्टन रकेट्सलाई एनबीएको उपाधि दिलाउन नसके पनि २०११ मा सन्यास लिनुअघि उनी पाँच पटक अल-एनबीए टिममा परे।

याओ मिङको जस्तो सन्दीप पनि खेल्ने सेटमा पर्छन् कि पर्दैनन् भन्ने हेर्न अझै २ महिना कुर्नु पर्छ।

खेल्ने सेटमा एउटा टिमले ४ जना विदेशीमात्रै राख्न पाउँछ। अर्कोतिर भारतका लागि टेस्ट, वान डे र ट्वान्टी ट्वान्टी खेलिसकेका लेगस्पिनर अमित मिश्रालाई दिल्लीले ४ करोड भारूमा किनेकाले सन्दीपले खेल्न पाउने सम्भावना न्युन नै देखिन्छ। टोलीमा पर्न सन्दीपले टेस्ट खेलिसकेका अफस्पिनर जयन्त यादव र आइपिएलको लामो अनुभव भएका बायाँ हाते स्पिनर सहवाज नदिमसँग पनि प्रतिष्पर्धा गर्नु पर्नेछ। फेरि यी तीनै जना सन्दीपभन्दा राम्रो ब्याटिङ पनि गर्छन्।

तर प्रतियोगिताअघिका अभ्यास खेलमा आफ्नो बलिङको जादु प्रशिक्षक पोन्टिङ र कप्तान गौतम गम्भीरलाई देखाउने अवसर सन्दीपलाई प्राप्त छ।

युवा खेलाडीको पक्षमा उभिएर दिल्लीको जिल्ला क्रिकेट बोर्डसँग विद्रोह गरेका क्रिकेटर हुन्, गौतम गम्भीर। त्यसैले गम्भीरभन्दा अर्को राम्रो कप्तान सन्दीपका लागि सायदै कोही हुन सक्छ। अझ उमेर हुँदा पनि खराब फिल्डर भनेर चिनिने ३५ वर्षीय मिश्राले खराब फिल्डिङ गरे र कदाचित् बलिङमा पनि जमेनन् भने फुर्तिला सन्दीपले मौका पाउन सक्छन्। आखिर २० ओभरको खेलमा ११ जनाले नै ब्याटिङ गर्नुपर्ने स्थिति बिरलै आउँछ। तर फिल्डिङ भने हरेक खेलाडीले हरेक म्याचमा गर्नैपर्छ। राम्रो फिल्डिङले जोगिने एक रनले पनि खेलको नतिजा फरक पार्न सक्छ।

खेल्ने सेटमा नपरे पनि उनले पोन्टिङ, गम्भीर र क्रिकेटका अन्तर्राष्ट्रिय अरु स्टारहरूबाट धेरै कुरा सिक्न सक्छन्। फेरि उनी भर्खर १७ वर्षका छन् र दिल्लीले उनलाई तीन वर्षका लागि किनेको हो।

नयाँ संविधान अनुसार भएको चुनावपश्चात् नेपाल संघीयतामा प्रवेश गरेको छ।

लामो सङक्रमणकाल र अस्थीरता पन्छाएर देश स्थीरता र विकासतर्फ अघि बढ्ने बेलामा सन्दीपले आइपिएल खेल्न पाए र चम्किए भने त्यसले मुलकभर उत्साह सञ्चार गर्नेछ। नेपालीले पनि गर्न सक्छन् भन्ने आत्मविश्वास ल्याउनेछ।

ओलीसँगै बसेर दिल्लीको फिरोजशाह कोट्ला मैदानमा मोदीले सन्दीपको खेल नहेर्लान् तर नेपालसँग सम्बन्ध सुधार्न भारतको अातुरी सार्वजनिक भैसकेको छ। त्यसले पनि मुलुकलाई स्थीरता र विकासको बाटोमा अगाडि लैजान मद्दत पुर्‍याउनेछ। सन्दीपको क्रिकेट र नेपाली अर्थतन्त्रको उदय एकै पटक सुरू भयो भने त्यो हाम्रा लागि पनि सुखद संयोग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
Inline
Inline