Breaking समाचार स्थानीय खबर

कञ्चनजङ्घा संरक्षण क्षेत्र ः नाउरको सङ्ख्या घढ्दै

Written by janaawaaj

हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घढ्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घढ्दै गएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको
छ । विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ । विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद् तथ्याङ्कमा उल्लेख छ । यसपछि विसं २०७७ को गणनामा भाले–पोथी गरी एक हजार ४२१ नाउर भेटिएको थियो । विसं २०७७ मा कोभिड–१९ का कारण चार ब्लगमध्ये गोला–मौमा ब्लग क्षेत्रमा भने गणना हुन सकेको थिएन ।

भर्खरै सम्पन्न भएको विसं २०७८ को नाउर गणनामा विगतको तुलनामा कमी आएको देखिएको छ । भाले–पोथी गरी एक हजार ६४८ नाउर कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको गणना तथ्याङ्कले देखाएको छ । राम्जेल ब्लग वयस्क भाले सात अर्धवयस्क भाले २२, तरुण भाले ४४ र किशोर भाले ४८ रहेको संरक्षण क्षेत्रले जनाएको छ । त्यस्तै बच्चा नाउर ३३ र पोथी ७३ गरी राम्जेल ब्लग क्षेत्रमा २२७ वटा नाउर हरेको तथ्याङ्क छ । घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा वयस्क भाले ७१, अर्धवयस्क भाले ६२, तरुण भाले ६७ र किशोर भाले ५८ वटा रहेका छन् । बच्चा ३६ र पोथी १५७ गरी जम्मा ४५१ वटा घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा रहेको तथ्याङ्क छ ।

याङमा ब्लग क्षेत्रमा ७४ वयस्क भाले, ७७ अर्धवयस्क भाले, ११२ तरुण भाले र ८१ किशोर भाले रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताउनुभयो । त्यस्तै १२ बच्चा, १५७ पाथी र पहिचान नखुलेको ३४ वटा गरी ५४७ नाउर याङमा क्षेत्रमा रहेका छन् । गोला–मौमा ब्लग क्षेत्रमा ६६ वयस्क भाले, ५५ अर्धवयस्क भाले, ६३ तरुण भाले र ७१ किशोर भाले छन् । त्यसैगरी दुई बच्चा, १५८ पोथी र आठ पहिचान नखुलेको नाउर गोला–मौमा क्षेत्रमा रहेको उहाँले बताउनुभयो ।

गत वर्ष गरिएको गणना घुन्सा खम्बाछेन ब्लग क्षेत्रमा ६४२ नाउर रहेको गणनाको तथ्याङ्कमा आएको छ । याङमा ब्लग क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ नाउर रहेको कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । पोथी ४९५ र ८१६ भाले रहेको थियो । असी वटा बच्चा रहेको गणनाको तथ्याङ्कले जनाएको छ । २७ नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका थिए । २०८ नाउर वयस्कको भाले रहेको थियो । २०७ नाउर तरुण भाले रहेको थियो  । २०६ नाउर किशोर अवस्थाको रहेको तथ्याङ्कले जनाएको छ । १९८ अर्धवयस्क उमेरको नाउर रहेको कार्यालयले जनाएको छ ।

कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरनको अध्ययन अवलोकन गर्न चारवटा क्षेत्र (ब्लग)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले
बताउनुभयो । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लगमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको उहाँले बताउनुभयो ।

संरक्षण क्षेत्रकामा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नारउ र हिउँ चितुवालागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई जिम्मेवारी दिएको घुन्सा ब्लग हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो । वन्यजन्तुबाट घरपालुवा जनवारहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरू नाउर गणनामा परिचालन हुने गर्दछ । ब्लग विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङ्कन गरिएको छ । यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कार्यालयल सचिव मनकुमार लिम्बूले बताउनुभयो । समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने हिउचितुवाको आहाराका रूपमा रहेका नाउरहरूको अवस्था बारेमा बुझ्न समय–समयमा गणना हुँदै आएको छ । कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लग क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताउनुभयो ।

समुद्र सतहदेखि तीन हजार ८०० को उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्दै आइएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रमा विसं २०६० मा १२ हिउँ चितुवा रहेको अनुमान गरिएकामा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान छ । हिउँ चितुवाको मलमूत्र परीक्षणका आधारमा पनि त्यस क्षेत्रमा उक्त सङ्ख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।

About the author

janaawaaj