Breaking समाचार स्थानीय खबर

याकखर्कमा चौरीको आलो रगत पिउनेको भीड

Written by janaawaaj

हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा जारी चौरी र याकको आलो रगत पिउने मेलामा सर्वसाधारणको भीड लागेको छ । साउन ४ देखि सुरु भएको उक्त मेलामा दैनिक १०० बढी मानिस चौरी र याकको आलो रगत पिउन आउने गरेको स्थानीय चौरी पालक किसानको भनाइ छ ।

मुस्ताङ, म्याग्दी, पर्वत र पोखराबाट समेत मानिस चौरीखर्कमा पुगेर रगत पिइरहेका स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । स्थानीयवासी शेरचनका अनुसार हिमाली लेकमा पाइने शक्तिवद्र्धक जडीबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटुकी, वन लसुन, पाँचऔँले, जिम्बुलगायत जडीबुटी खाने भएकाले याक र चौरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिस चौरी रगत पिउन आउने गर्दछन् ।

यसरी चौरी र याकको आलो रगत खानाले यौनशक्ति वृद्धिहुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसरलगायत रोग निको हुने स्थानीयवासीको भनाइ छ । तर, यस विषयमा चिकित्सक भने मौन छन् । उनीहरूका अनुसार स्वास्थ्य परीक्षण नगरिकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि ठिनीहुँदै करिब एक घण्टाको पैदलयात्रा पछि याक खर्कमा पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताले युक्त नमखुलेकको याकखर्क अहिले रोमाञ्चक र पीडादायी दुवै किसिमका दृश्य एकै साथ देखिएका याकखर्कमा पुग्नुभएका राजन सापकोटाले बताउनुभयो ।

सिमसिम पानी परेको बेलामा नमखुलेक र याकखर्कको सुन्दरताले लोभ्याउने भए पनि याकचौरीको घाँटी चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर पिएको दृश्य भने निकै पीडादायी लाग्ने उहाँको भनाइ छ । चौरी मेलामा किसानले पालेका २५० भन्दा बढी चौरी र याकलाई ल्याइएको छ । ती याक र चौरीलाई तालिमप्राप्त सिपालु मान्छे (स्थानीय भाषामा आम्जी) ले घाँटीमा नशा पत्ता लगाई चापो (एक किसिमको चक्कु)ले नशा काटेर रगत निकाल्ने गर्दछन् । रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।

यहाँका खर्कमा प्रत्येक वर्ष साउन र वैशाख गरी दुई पटक आलो रगत निकालेर बिक्री गर्नका लागि नै चौरीको रगत पिउनले मेला आयोजना हुँदै आएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत निकाल्ने मेला सञ्चालन भएको छ ।

नमखुलेखको याकखर्क निलगिरी हिमालको फेदमा रहेको छ । यो क्षेत्र प्राकृतिक सुन्दरताले समेत चित्ताकर्षक छ । हिमालको काखमा पुगेर विशुद्ध प्राङ्गारिक जडीबुटी खाएका याक र चौरीको रगत पिउँदै हिमाली सौन्दर्यमा रमाउन पाउँदा निकै आनन्द हुने याकखर्कमा पुगेर चौरीको रगत पिएर फर्किनुभएका म्याग्दीका युवा सन्तोष सुवेदीले बताउनुभयो ।

कमाउँदै चौरीपालक किसान

मुस्ताङका चौरी र याकपालक किसान वर्षको दुई पटक हिमाली खर्कमा लाग्ने मेलामा चौरी र याकको आलो रगत बिक्री गरेर आम्दानी लिन पाएका छन् । मानवीय संवेदना, मानव स्वास्थ्यका लागि उपयुक्त वा अनुपयुक्त के छ, भन्ने दृष्टिकोणबाट जसरी हेरिए पनि किसानका लागि भने यो मेला पैसा कमाउने माध्यम बनेको छ ।

यस भेगका चौरी खर्कमा झण्डै ३०० को हाराहारी याक र चौरी पालिएका स्थानीय बासिन्दा तथा चौरीपालक किसान पुरन गौचनले
बताउनुभयो । स्थानीय बासिन्दा एवं चौरीपालक किसान भूपेन्द्र शेरचनका अनुसार याक र चौरी पाल्ने किसानका लागि आलो रगत निकालेर बेच्ने कार्य वैकल्पिक आम्दानीको स्रोत पनि हो । एउटा वयस्क याक तथा चौरीबाट न्यूनतम १५ देखि अधिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास दुई सयमा बेच्ने गरिएको चौरीपालक किसान शेरचनको भनाइ छ ।

मुस्ताङमा नै याकचौरीको मूल्य बढिरहेको छ । चिसो भूगोल र जङ्गली प्राङ्गारिक जडीबुटी खाएर हुर्काइएका याक र चौरीको मासु स्वादिलो र पोषिलो हुने हुनाले मासुको समेत उच्च माग हुनेगरेको किसानले बताएका छन् । चौरीबाट उत्पादित दूधबाट दही, घ्यु, चिज र छुर्पीलगायत परिकार बनाएर बिक्री गर्ने गरिन्छ ।

पशुमाथिको निर्मम शोषण

स्वाद, उपचार, मनोरञ्जन र व्यापारको दृष्टिकोणले जतिसुकै राम्रो मानिए पनि कुनै पनि जीवित पशुको घाँटी चक्कुले रेटेर रगतको धारा निकाली, गिलासमा भरेर पिउनु मानवीय दृष्टिकोणले कत्ति पनि उचित नभएको र यस्तो कार्य अवोध पशुमाथि मानिसले गरेको निमर्म शोषण भएको पाका मानिसको भनाइ रहेको छ ।

विज्ञानले चिकित्सा क्षेत्रमा नयाँनयाँ खोज र अनुसन्धान गरी असाध्य रोगको औषधि, खोप लगायतका उपचारसँग सम्बन्धित हरेक कुरा पत्ता लगाइसक्दा पनि मानिसले आफ्नो स्वास्थ्य र उपचारकै नाउमा अवोध जीवित पशुको रगतसमेत पिउनु मानवीय संवेदना र धार्मिक दृष्टिकोणले पनि कत्ति उचित नभएको ७५ वर्षीय दधिलाल रिजालले बताउनुभयो ।

डा खगेन्द्रराज सापकोटाका अनुसार चक्कुले चौरीको घाँटी रेटेर निकालिएको आलो रगत तत्कालै गिलासमा भरेर पिउनाले मानवका स्वास्थ्यका लागि सुरक्षित हुन मान्यता छ । आलो रगत पिएमा शारीरिक फुर्ति बढ्ने, गानोगोला, ग्यास्ट्रिक, कमलपित्त, मर्केको, सुन्निएको र पेटसम्बन्धी रोग निको हुने अन्धविश्वास पनि कायमै छ । तर, मासु विज्ञानमा ताजा रगत खान योग्य वस्तु वा भागको रूपमा परिभाषित गरिएको छैन ।

बरू रगतमा विभिन्न विषाक्त पदार्थका अवशेष रहेका हुन्छन् भनिएको छ । सामान्य शारीरिक प्रक्रियाअनुसार सङ्क्रमण गराउने हानिकारक विषाक्त तत्व रगतको शुद्धीकरण प्रक्रियापछि बाहिर जान्छन् । यसकारण तातो ताजा रगत पिउनाले रगतमा हुने हानिकारक विषाक्त तत्वका कारण मानव स्वास्थ्यमा जोखिम खडा गर्न पनि सक्छन् ।

यसले पशुबाट मानवमा सङ्क्रात्मक रोग सर्ने मात्र नभइ वातावरणबाट पशुमा पनि सङ्क्रात्मक रोग फैलिने सम्भावना पनि उत्तिकै हुन्छ । यो परम्पराले दुवै मानव स्वास्थ्य र पशु कल्याणको पक्षलाई समीक्षा गर्नुगर्ने र पशु प्रजातिलाई यो दर्दनाक अवस्था र एउटा जङ्गली भोजबाट मुक्ति दिलाउने आधार तयार पार्न बाटो दिन सक्नुपर्दछ ।

About the author

janaawaaj