Breaking विज्ञापन-सम्पार्क समाचार

स्वरोजगार हँुदै सोभातालका मुक्तकमैया

Written by janaawaaj

बेलौरी नगरपालिका– ५ सोभाताल मुक्तकमैंया बस्तीका विनोद चौधरी डकर्मीको काम गर्नुहुन्छ । उहाँकी श्रीमती गङ्गाले घरमै थोरै रकम लगानी गरी पसल सञ्चलन गर्नुभएको छ । छोरा भारतमा काम गर्नुहुन्छ । दुवै जनाले आय–आर्जनको काम गरेर सहज रुपमा परिवारको खर्च धान्दै आउनुभएको छ ।

विनोदले डकर्मीको काम गरेर मासिक रुपमा रु २५ हजारदेखि ३० हजारसम्म कमाइ गर्नुहुन्छ । उहाँकी श्रीमतीले मासिक रुपमा रु छ हजारदेखि रु १० हजारसम्म कमाउनुहुन्छ । “कमाइ भएको रकम भविष्यका लागि बचतसमेत गर्दै आएका छौँ”, विनोदले भन्नुभयो, “अहिलेसम्म गाउँकै समूहमा रु दुई लाख जति रकम बचत गरेका छौँ । आवश्यकता भएका बेला त्यही रकम झिकेर लगानी गर्ने सोच छ ।”

बाहै्रमहिना डकर्मीको काम पाइँदैन । केही दिन घरमै बेरोजगार भएर बस्नुपर्ने बाध्यता हुने उहाँ बताउनुहुन्छ ।“सोभाताल क्षेत्रमा पिकनिक मनाउन आउने व्यक्तिले पसलमा समान खरिद गर्ने गर्दछन”, गङ्गाले भन्नुभयो, “कुनै बेला धेरै कमाइ हुन्छ । अहिले वर्षातको समय भएकाले थोरै मात्रै यस क्षेत्रमा पुग्छन् । कमाइ पनि थोरै छ ।” पसलमा सोचे जस्तै कमाइ भइरहेकाले यसमा लगानी बढाउने सोच उहाँले अघि सार्नु भएको छ ।

“बाजे, बुबाले कमैया रहँदा अरुको अधिनमा रहेर काम गर्नुपर्दथ्यो”, चौधरीले भन्नुभयो, “कमैयामुक्तिपछि पाँच कठ्ठा जग्गा सरकारले उपलव्ध गराएको छ । स्वतन्त्र भएर आय–आर्जनको काममा संलग्न हुन पाउँदा निकै खुसी छौँ । सरकारले जग्गा मात्रै दिएन । डकर्मीको सीपसमेत सिकाएकाले जीवन चलाउन निकै सहज छ ।”

सोभाताल मुक्तकमैया बस्तीका विनोद जस्तै २५ जना भन्दा बढी व्यक्तिले डकर्मीसम्बन्धी तालिम लिएर स्वरोजगार भएका छन् । घर चिनाइको कार्य मात्रै बस्तीका तालिम लिएका युवाले गर्दैनन् । बढी आम्दानी हुने टायल विछ्याउने, मार्बल लगाउने, पेन्टिङ गर्ने र हाउसवायरिङको कार्यसमेत गर्दछन् । जसबाट गतिलो आम्दानी हातपर्ने गरेको छ ।

बस्तीका सात परिवारले भने व्यावसायिक तरकारी खेतीलाई गरेका छन् । जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका अस्मिता चौधरीले भन्नुभयो, “तालिम लिएर तरकारी खेती गर्न थालेपछि सहज रुपमा जीविका चल्न थालेको छ । तरकारी खेतीबाट गतिलो आम्दानी हुने भएकाले यसलाईनै व्यवसाय बनाएका छौँ ।” व्यावसायिक कार्य गरेर आएको आम्दानीको रकम परिचालन गरी केही परिवारले घरका युवालाई वैदेशिक रोजगारीमासमेत पठाउन थालेका छन् ।

हालसम्म बस्तीका चार जना युवा वैदेशिक रोजगारीमा मलेसिया, कतारलगायतका ठाउमा गएका छन् । “सरकाले पुनःस्थापना गराउँदा उपलव्ध गराएको पाँच कठ्ठा जग्गामा घर बनाउन र थोरैमा खेती गर्न पुगेको छ”, कृपाराम चौधरीले भन्नुभयो, “उपलव्ध जग्गामा खेती गर्दा तीन महिनाका लागि पनि खान पुग्दैन । त्यसैले पनि समूहबाट कर्जा लिएर आयआर्जनका कार्यमा संलग्न हुँदै आएका छौँ ।”

चौधरीले घरमै बङ््गुर र कुखुरापालनसँगै मासु र मदिराको पसल सञ्चालन गर्नुभएको छ । उहाँ जस्तै बस्तीका चङगल चौधरीले किराना पसल सञ्चालन गर्नुभएको छ । जसबाट उहाँले मासिक रुपमा रु ३० हजारदेखि रु ४५ हजारसम्म कमाउनुहुन्छ ।

आय–आर्जनका कार्यक्रममा संलग्न हुन सकेका केही परिवारका सदस्य भारतीय उखु फार्ममा मजदूरीसमेत गर्दै आएका छन् । मौसममा बिहानको झिसमिसेमै घरबाटै खाना लिएर जाने र भारतीयको उखु गोडमेल गरी साँझ घर फर्कने गरेका छन् । उखु गोलमेल गर्दा भारतीयले दैनिक ज्यालाबाफत रु पाँच सय भारतीय रुपैया दिने गरेका छन् । केही परिवार गाउँमै मजदूरीमासमेत संलग्न हुने गरेका छन् । विसं २०५८ मा पुनः स्थापन गराइएको बस्तीमा एक सय ३२ परिवारको बसोवास रहेको छ ।

About the author

janaawaaj