Breaking समाचार स्थानीय खबर

‘चुप लागेर बस्न मन लागेन’

Written by janaawaaj

बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ ।

उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय आफ्नै बारीको फलफूल खेतीमा बित्ने गरेको हो । उहाँहरूले आफ्नै पुख्र्यौली सम्पत्तिको रुपमा रहेको दुई बिघा जमिनमा ‘बह्मकमल बगैँचा’ नामक फार्म नै सञ्चालन गरेर ४१ प्रकारका प्रजातिका फलफूलका विरुवा हुर्काउनुभएको छ । यसमा ड्रागन फुड, सुपारी र कागतीबाट आम्दानीसमेत हुन थालेको छ ।

“चुप लागेर बस्न मन लागेन”, पोखरले भन्नुहुन्छ, “हामी किसानका छोराछोरी जानेको पेसा पनि यही हो । मेरो सम्पूर्ण सेवा निवृत्त जीवन यसमा रमाइलो गरेर अरुलाई पनि सिकाउँदै बिताउने हो ।” उहाँले आफूलाई खाना लगाउनको दुःखले फलफूल खेती नगरेको बताउनुभयो ।

छोराछोरी भने काठमाडौँको घरमा बस्ने गरे पनि आफूहरू तनावमुक्त जीवन जिउँदै भएको जमिनको सही सदुपयोग गर्ने उद्देश्यले फलफूल खेतीमा रम्न थालेको उहाँको भनाइ छ । खरिदार पदबाट जागिर सुरु गरेर उपसचिवबाट रिटायर्ड हुनुभएका उहाँले गरेको फलफूल खेती हेर्नका लागि महाकाली, हेटौँडादेखिका सरकारी कर्मचारीसमेत आउने गरेका छन् ।

उहाँले फलफूल खेतीका लागि हालसम्म करिब रु २५ लाख लगानी गरिसकेको बताउनुभयो । उहाँका बारीमा कुरिलो, करौदा, केरा, मखमली स्याउ, अमला, अम्बक, मेकाडेमियानट, लहरे आँप, मदाने, नरिवल, सुपारी, लिची, एभोकाडो, ड्रागन फुड, अङ्गुर, कास्मिरी बयर, स्ट्रेबरी, मेवा, आरु, काजु, जाइदाना, मुन्तला, सपोटा, ल्वाङ, बाह्र मसला, अनारलगायतका ४१ प्रकारका फलफूल लगाउनुभएको छ ।

“मानव जीवनमा दैनिक नभई नहुने फलफूलको खेती गरेको छु”, उहाँले भन्नुभयो, “यसबाट आम्दानी पनि हुन्छ, आनन्द र स्वतन्त्र ढङ्गले तनावरहित जीवन बिताउने माध्यम पनि बनेको छ ।” उहाँको उद्देश्य भनेको आफू मात्र यो पेसामा लाग्ने होइन, गाउँमा उर्बरभूमि खेर गइरहेको भूमिको सदुपयोग गर्दै किसानलाई समेत ‘मोटिभेसन’ गराएर कृषि कर्ममा लाउने रहेको छ ।

काठमाडौँको सुख सुविधा छाडेर र सन्तानलाई समेत चटक्कै छाडेर श्रीमानसँगै दिनरात कृषि पेसामा रमाउँदै हुनुहुन्छ यतिबेला प्रतिमा पनि । सुरुमा नआए पनि श्रीमान्को कृषि कर्म देखेर यसै वर्षदेखि आफू पनि सघाउन झापातिरै आएको उहाँको भनाइ छ । उहाँहरूले चार जना स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्नुभएको छ ।

“सुरुमा त दिक्क लाग्थ्यो”, उहाँले भन्नुभयो, “तर फलहरू फल्न थालेपछि र हामीले गरेको मिहेनत र परिश्रमको कदर गर्दै साथीभाइ आउन थालेपछि आनन्द लाग्न थालेको छ ।” गत वर्ष १०० केजी ड्रागन फुड बेच्न सफल पोखरेल दम्पतीले यस वर्ष ५०० केजी बेच्ने लक्ष्य राखेको छ । उहाँहरूले उत्पादन गरेको फलफूल किन्नका लागि घरमै व्यापारी, व्यवसायी आउने गरेका छन् । उहाँले घरैबाट हाल प्रतिकेजी रु पाँचदेखि छ सयले ड्रागन फुड बेचिरहेको जानकारी दिनुभयो ।
उहाँको कृषिप्रतिको लगाव र मिहेनत देखर कृषि ज्ञान केन्द्र झापाले गत चालु आर्थिक वर्ष २०७८÷७९मा उत्पादित सामग्रीको सङ्कलन केन्द्र निर्माणका लागि रु छ लाख अनुदान समेत प्रदान गरेको थियो । ग्रामीण क्षेत्रका किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादनमा जोड दिनका लागि ५० प्रतिशत अनुदानमा सो रकम प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताउनुभयो ।

आयतित फलफूललाई विस्थापित गर्नका लागि ग्रामीण किसानले उत्पादन गरेको अग्र्यानिक कृषिजन्य वस्तुलाई बजारीकरणमा सहयोग गर्ने जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले बताउनुभयो । उहाँले खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिन, कृषि उत्पादनलाई व्यवसायीकरण, विविधीकरण, आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्वमा क्षमता अभिवृद्धि गर्दै लानेतर्फ सरकार र सरोकार पक्षको ध्यान जान अझै खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले सरकारले कृषि क्षेत्रमा गरेको लगानी सदुपयोग भएको छ कि छैन आवश्यक अनुगमन निरीक्षण गरी राम्रो काम गरेका किसानलाई प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था समेत गर्नुपर्ने सुझाव दिनुभयो ।
–––

About the author

janaawaaj