Breaking विज्ञापन-सम्पार्क समाचार

बागलुङ समाचार ः ‘भ्यूटावर ’को भएन संरक्षण

Written by janaawaaj

बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं २०७६ मा निर्माण सम्पन्न भएको थियो ।

करिब रु एक करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटावरको संरक्षण नहुँदा कुरुप देखिँदै गएको छ । भ्यूटावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामग्रीसमेत तोडफोड गरिएको पाइएको छ ।

भ्यूटावर संरक्षणमा सरोकारवालाले चासो नदिँदा त्यसका संरचना विस्तारै बिग्रँदै गएका हुन् । भ्यूटावरमा प्रयोग गरिएको विद्युत्का केही सामग्री चोरी भएको, विद्युत्का तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुग्नुभएको सङ्गम घर्तीले बताउनुभयो ।

निर्माण सुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्यूटावर सौन्र्दयीकरणका लागि दुई वर्ष अगाडि चौथो तलामा बागलुङ नगरपालिकाले रु १० लाखको लागतमा लगाइएको सिसाको पूर्वपट्टीको भाग पूरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ । पछिल्लो समय बागलुङ–१० भकुण्डेस्थित मूलाबारी भ्यूटावर पर्यटकका लागि रोजाइमा पर्न थाले पनि भ्यूटावरको संरचनामा क्षति भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ–१० का वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो ।

“भ्यूटावर गाउँभन्दा माथि जङ्गलको बीचमा छ, सुरक्षाको लागि तारबारसमेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेटसमेत निर्माण गरिएको थियो, भने भ्यूटावरमा हेरालुसमेत राखिएको थियो”, उहाँले भन्नुभयो, “अहिले हेरालुले प्रवेश शुल्कद्वारा सङ्कलन गरिएको रकम कोरोनाका कारण कमी आएको भन्दै छोडेर गएछन्, अहिले सुरक्षा गर्ने कोही छैन, दुई स्वागत बोर्डसमेत पल्टिएको छ, नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाका लागि प्रहरी खटाउन पहल गरिरहेको छु ।”

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको भए पनि भ्यूटावरको पर्खालमा जथाभावी शब्द लेख्ने कार्यले त्यहाँ पुगेका पर्यटकलाई समस्या भएको गुनासो छ ।

विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने बिहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यूटावर पुग्ने गरेका छन् ।

भ्यूटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रोसमेत भत्किएको छ । अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्डसमेत भुइँमा ढलेको छ ।

भकुण्डे भ्यूटावरको संरचनामा क्षति पुगेका विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमनसमेत गर्नुभएको बागलुङ नगरपालिकाले जनाएको छ । भ्यूटावर संरक्षणमा स्थानीयको सक्रियता हुँन आवश्यक देखिए पनि नगरपालिकाले भ्यूटारको मर्मतसम्भार गर्ने नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

“हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षति पुगेको अनुगमनका क्रममा पाइयो, हामीले मर्मतसम्भार गरेर पुनःस्थानीयलाई सुरक्षा गर्न भन्नेछौँ”, उहाँले भन्नुभयो, “राज्यले करोड खर्चेर बनाएको संरचना विग्रँन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्गसमेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनःभ्यूटावरलाई पुरानै अवस्थामा फर्काइनेछौँ ।”

भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्यूटावर निर्माण थालिएको थियो । तत्कालीन जिल्ला विकास समिति, संसद् विकास कोषमा बनेको भ्यूटावरको अन्तिम रुप बागलुङ नगरपालिकाले तयार गरेको थियो । भ्यूटावरमा पुग्नका लागि रेलिङसहितको पदमार्ग, खानेपानी, शौचालयलगायतका पूर्वाधार निर्माण भए पनि पानीको अभावमा खानेपानीको ट्याङ्की र धारोसमेत प्रयोगविहीन बनेको छ ।

भारतको दाजर्लिङ तथा पोखराको सराङ्कोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्यूटावरबाट देखिने सूर्योदय हुनसक्ने भकुण्डे पुग्ने पर्यटकले बताएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार एकसय ५० मिटरको उचाइमा चारतले पक्की भ्यूटावर रहेको छ ।

बागलुङमा भदौरे जात्राको रमझम

शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडवाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ ।

जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्रा अन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ । रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाको संस्था ‘नेवा ल्याम पुच’ का अध्यक्ष जय राजभण्डारीले शुक्रबार घोडा नाच देखाएपछि यो वर्षको भदौरे जात्रा सकिने बताउनुभयो । सोही संस्थाको अगुवाइमा मङ्गलबार रोपाइँ नाच र बुधबार शाक्य कल्याण समाजले जोगी नाच निकालेको थियो । त्यसअघि समाजले लाखे नाच र ल्याम पुचले होवा र कटुवाल नाच देखिएको थियो ।

“शाक्य कल्याण समाजबाट लाखे र जोगी नाच निकल्छन्, अरु नाच नेवा ल्याम पुचले देखाउँछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो । ऐतिहासिक नाच तथा जात्राको संरक्षणमा नेपाल भाषा मंकाः खलः, नेवा ल्याम पुच र शाक्य कल्याण समाज सक्रिय छ । झण्डै तीन सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट यहाँ भित्रिएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो ।

“भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रुपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खे नाच निकाल्न सुरु हुन्छ ।”गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकालिएको थियो । त्यसयता लाखे, होवा, कटुवाल, रोपाइँ, जोगी नाच प्रदर्शन भइसकेको छ । कृष्णाष्टमीका दिन घोडा नाच निकाल्ने तयारी छ । उक्त नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन छ ।

कटुवाल नाचमा पनि युवा विभिन्न रुपका मुकुण्डो धारण गरेर मृदङगको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।

कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाको वेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।

जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्र पनि शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको वेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज सचिव मञ्जुल शाक्यले बताउनुभयो । उहाँले बागलुङको जोगी नाच पनि तीन सय वर्ष पुरानो भएको उल्लेख गर्नुभयो ।

जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगी नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता थपिँदै गएको समाजका सचिव शाक्यले बताउनुभयो ।

जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । प्रायः नाच गाईजात्राकै भिन्नस्वरुप जस्ता देखिन्छन् । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन” संस्कृतिकर्मी छोटाले भन्नुभयो, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।” सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्नभिन्न पाइन्छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ । नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पहिले पहिले भदौरे नाच हेर्नकै लागि मानिसहरु गाउँगाउँबाट बागलुङ बजार झर्ने गर्थे ।

“दिनभर जात्रामा रमाउने र चाडवाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उहाँले भन्नुभयो,“ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।”पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । जिल्लाको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।

“पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवा पुस्ता बाहिर छ, यस्ले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”

पालिकाले बनाउन सकेनन् आफ्नै पाठ्यक्रम

संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । जिल्लाका नगरपालिकाले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् ।

साधनस्रोत बढी भएर पनि नगरपालिका पाठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । पाठ्यक्रममा तमानखोला पहिलो भयो । त्यसपछि ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागू गरे ।

तमानखोलाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो । आगामी वर्ष कक्षा ५ सम्मको पाठ्यक्रम लागू गर्ने तयारी भएको गाउँ शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताउनुभयो ।

ताराखोला गाउँपालिकाले पनि गत शैक्षिकसत्रबाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो । ताराखोलाको पाठ्यक्रममा स्थानीय उत्पादन र मगर संस्कृतिबारे बढी सामग्री सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयो ।

बरेङ गाउँपालिकले पनि चालु वर्षदेखि पाठ्यक्रम लागू गरेको बताएको छ । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

“मौलिक ढङ्गको पाठ्यक्रम बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, क्रमशः पाठ्यक्रम बनाउने योजना छ ।” स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उहाँले बताउनुभयो ।

तीनवटै पालिकाले पहिलो चरणमा मस्यौदा बनाए । त्यसमा विज्ञ समूहको छलफलमार्फत निष्कर्षसमेत निकालेपछि पाठ्यक्रमलाई अन्तिम रुप दिएका थिए । बडीगाडमा छिट्टै पाठ्यक्रम बनाएर लागू गर्न तयारी भएको अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

अन्य गाउँपालिकामा पनि मस्यौदा लेखनको काम भइरहेको र त्यसपछि छलफल गरेर अन्तिम रुप दिने योजना जनप्रतिनिधिले सुनाए । सदरमुकामस्थित बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन । गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाले पनि पाठ्यक्रममा प्रगति गर्न सकेको छैन । साधनस्रोत धेरै भए पनि नगरपालिका तहमा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले बताए । “सबैभन्दा दुर्गमको तमानखोलाले गर्नसक्ने काम सदरमुकाममा किन भएन ?”, स्थानीय सुजन परियारले भन्नुभयो, “कर्मचारी र जनप्रतिनिधिमा केही गरौँ भन्ने भावना भएन भने कुरा ठूला हुन्छन् ।” अन्य काममा पनि जिल्लाका नगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएको उहाँले बताउनुभयो ।

तयारी गरेकाले पनि काम फत्ते गर्न सकेका छैनन् । मस्यौदा बनाएको बागलुङ नगरपालिकाले पाठ्यक्रमको पुस्तिका तयार गर्न सकेको छैन । “विभिन्न छलफल र कार्यशालामार्फत प्रारम्भिक मस्यौदा बनाएका छौँ”, बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भन्नुभयो, “पाठ्यपुस्तक बनाउने बजेट नभएर रोकिएका हौँ ।” गत आर्थिक वर्ष बजेट नपाएर रोकिएको काम अब आर्थिक अधिकार आएपछि गरिने उहाँले बताउनुभयो । त्यसका लागि केकति बजेट विनियोजन छ भन्ने उहाँले खुलाउनुभएन् ।

जैमिनी नगरपालिकामा अहिलेसम्म पाठ्यक्रमबारे सुरसार छैन । पाठ्यक्रम तयारी समिति मात्रै गठन भएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताउनुभयो । “चालु वर्ष दुई लाख ५० हजार बजेट पनि छ अब हामी लाग्छौँ”, आचार्यले भन्नुभयो, “आगामी वर्षदेखि कम्तीमा कक्षा १ को भए पनि पाठ्यक्रम लागू गर्छौं ।”

गलकोटमा पाठ्यक्रमबारे सामान्य छलफल भएको छ । ढोरपाटन नगरपालिकामा पनि सुरसार छैन । “पाठ्यक्रममा पालिकाभित्रका सबै वडा, ती वडाका महत्वपूर्ण उत्पादन, धार्मिक र पर्यटकीयस्थल तथा ऐतिहासिक पात्र समावेश गर्नुपर्ने सुझाव आएको छ”, गलकोट नगर प्रमुख भरत शर्मा गैरेले भन्नुभयोे, “बालमैत्री नगर बनाउने तयारीमा छौँ, अब नयाँ पाठ्यक्रम पनि बनाएर आगामी वर्ष लागू गर्छौं ।”

About the author

janaawaaj