Breaking कृषि समाचार

दुग्धव्यवसायले सुध्रियो किसानको आर्थिक हैसियत

Written by janaawaaj

खेतीपातीबाट बढी उब्जाउका लागि प्राङ्गारिक मलको जोहो गर्न गाईभँैसी पाल्थे किसान । सामाजिकीकरण, आधुनिकीकरण र तीव्रतम् आर्थिक गतिविधिले चालिसको दशकअघिको यो जमाना बदलिएको छ । बस्तुभाउ पालनलाई व्यावसायिक र आर्थिक गतिविधिसँग जोडेर किसानले दुग्ध उत्पादनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् ।

दुग्ध व्यवसायमा बढ्दो किसानको आकर्षणले चार दशकको अन्तरालमा सिन्धुपाल्चोकले दूध उत्पादनको उर्भरभूमि र भण्डारकैरुपमा परिचय बनाएको छ । जिल्ला दुग्ध उत्पादनको पकेट क्षेत्रसमेत घोषित भएको छ ।

विसं २०४२ पछि दुग्ध व्यवसायतर्फ लम्केका किसानले केही वर्षमै यसलाई प्रमुख व्यवसाय र पेशाकैरुपमा अँगाले । आम्दानीको ‘स्वाद’ले किसानले उन्नत जातका गाईभैँसी भित्रयाए र विस्तारै व्यावसायिक बन्दै गए । पचासको दशकमा आइपुग्दा जिल्ला दुग्ध उत्पादनको उर्वर भूमिका रुपमा चिनिन थाल्यो ।

जिल्ला दुग्ध उत्पादक सङ्घको तथ्याङ्कअनुसार १३ हजार घरपरिवार (किसान) दुग्ध व्यवसायमा सक्रिय छन् । दैनिक ४० हजार लिटर दूध राजधानी पैठारी हुन्छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष इन्द्रमणि दाहाल भन्नुहुन्छ, “किसानले एकैदिन दूध बिक्रीबाट रु १५ लाख रुपैयाँ नगद गाउँ लादै आएका छन् ।”

“दुग्ध उत्पादनलाई व्यवसाय र पेशाकैरुपमा अगालेपछि किसानले आफ्नो आर्थिक हैसियत नै सुधारेका छन् । कम्तीमा उन्नत जातका एक गाई र एक भैँसी नभएको जिल्लाको ग्रामीण भेगमा घर कमै
भेटिन्छन् । दूधकै आम्दानीले गाउँमा किसानको रवाफ बढेको छ । घरमै लाखौँ रुपैयाँको चलखेल हुन्छ । उनीहरुका सन्तति राम्रा स्कुलमा राम्रै विषय लिएर अध्ययन गर्दैछन् । यो सबै दूधको आम्दानीको कारण हो”, दाहाल बताउनुहुन्छ ।

छोटो समयमा किसानले दूधबाट आर्थिक हैसियत सुधारे पनि जिल्लामा यसको इतिहास भने त्यति लामो छैन । विसं २०४२ मा दुग्ध विकास संस्थान (डिडिसी) ले पहिलो पटक चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि दुग्ध व्यवसायको सुरुआत भएको थियो । जिल्लाको पहिलो चिस्यान केन्द्र सिपाघाटमा स्थापना भएको हो । यसको तीन वर्षपछि २०४५ मा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ गठन भएपछि किसानले दुग्ध उत्पादनलाई व्यवसायकैरुपमा अँगालेको पाइन्छ ।

एक सय ४० दुग्ध सहकारी संस्थामा आबद्ध भएर १३ हजार किसानले आम्दानीको दरिलो स्रोत बनाएका छन् । यतिबेला जिल्लामा निजी र संस्थान (डिडिसी)का आठ चिस्यान केन्द्र सञ्चालनमा रहनुले पनि सिन्धुपाल्चोक दुग्ध उत्पादनको उर्वरभूमि रहेको पुष्टि हुन्छ ।

मेलम्ची, सिपाघाट र बलेफीमा डिडिसीका चिस्यान केन्द्र छन् । ती चिस्यान केन्द्रले एक सय २९ सङ्कलन केन्द्रमार्फत दैनिक ३० हजार लिटर दूध सङ्कलन गर्छन् । मेलम्चीले आठ हजार, सिपाघाटले १२ हजार र बलेफीले १० हजार लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । यसबाहेक सिपाघाट, साँखु र साँगाचोकमा निजी क्षेत्रले सञ्चालनमा ल्याएका तीन चिस्यान केन्द्रमा दैनिक १० हजार लिटर दूध सङ्कलन हुन्छ ।

दुग्ध व्यवसायमा किसानको आकर्षण बढ्दो रहेका कारण जिल्ला सङ्घले नौबिसे र अँधेरीमा थप दुई चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । बढ्दो किसान आकर्षण र दुग्ध उत्पादनको प्रचुर सम्भावना रहेकाले काठमाडौँ दुग्ध वितरण आयोजनाले सिन्धुपाल्चोकलाई दुग्ध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको लेखा समिति सदस्यसमेत रहनुभएका दाहाल बताउनुहुन्छ ।

जिल्लामा सङ्कलित दूध (डिडिसी) मार्फत बालाजु पुगेर राजधानीमा वितरण गरिन्छ । प्रतिलिटर दूधको रु ५५ देखि ९९ लिने किसानले वार्षिक पाँच लाख रुपैयाँसम्म घर भित्र्याउने गरेको दुग्ध सहकारीको तथ्याङ्कले देखाएको छ ।

मेलम्ची, तालामाराङ, शिखरपुर, ज्यामिरे, भोटेचौर, भोटसिपा, सिपापोखरे, कुविण्डे, फुल्पिङडाँडालगायत गाविस दुग्ध उत्पादनको उर्वर भूमि मानिन्छन् । व्यवसायमा बढ्दो आकर्षणले किसानको मात्र आम्दानीको स्तरमा सुधार आएको छैन, दुग्ध सहकारी संस्थाको मुनाफा र बचत पनि बढेको छ । मुनाफाबाट किसानले लाभांश र बचतबाट सहुलियत ब्याजदरमा ऋण पाउछन् ।

About the author

janaawaaj