Breaking शिक्षा-स्वास्थ्य समाचार

गौशालाको व्यवस्थापन विश्वविद्यालयलाई दिइनुपर्ने

Written by janaawaaj

महोत्तरी, २६ साउन (रासस)ः निगौल गाई रहेको गौशालाको व्यवस्थापकीय जिम्मेवारी कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई दिइनुपर्ने चर्चा बढेको छ । गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालाको व्यवस्थापकीय जिम्मेवारी चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा हस्तान्तरण गर्नुपर्ने माग स्थानीयस्तरबाटै उठेको हो । हाल गौशालाको व्यवस्थापकीय जिम्मेवारी ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डमा रहेको छ ।

“पूर्वाधार र जग्गाजमिन प्रशस्त रहेको गौशालालाई गाई अनुसन्धान तथा राष्ट्रिय गाई अनुवांशिक केन्द्रका रुपमा विकास गराउनपर्छ, ताकी यो अध्ययन, अनुसन्धानको थलो बन्न सकोस्” पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरीराजमणि पोखरेल भन्नुहुन्छ,“त्यसका लागि उक्त विश्वविद्यालयको आङ्गिक क्याम्पसलाई अघि बढाउन सकियोस् ।” यसको दीर्घकालिन ‘मोडल’ बनाएर तत्काल पहल अघि बढाउन आवश्यक रहेको उहाँकोे निष्कर्ष छ ।

विश्वविद्यालयको आवद्धतासँगै भेटेरेनरी काउन्सिलको अनुमति लिएर स्नातकतहको पशुपालन र पशु स्वास्थ्यसम्बन्धी पठनपाठन सञ्चालन गर्नसके गौवंशको गहिरो अनुसन्धान र नयाँ नश्लको विकास तथा सुधारको क्षेत्रमा दक्षजनशक्ति उत्पादन हुने यहाँका विद्वतवर्गको विश्वास छ । उक्त बोर्डका सहअध्यक्ष मित्रराज दवाडी पनि गौशालाको समुचित विकास, सम्भार र यसलाई जीवनोपयोगी शिक्षा आर्जनको थलो बनाउन उक्त विश्वविद्यालयमा आवद्ध गराउन पर्नेमा जोड दिनुहुन्छ ।
विक्रम सम्वत् १९८३ मा भारतको बिहारस्थित दरभङ्गा महाराजले ब्रह्मदेव ठाकुरमार्फत जग्गाको बन्दोबस्त मिलाएर गाईको व्यवस्था गरी गौशाला स्थापना गराएका थिए । गोठसँगै गाईको पालका लागि अत्यन्त उब्जाउ १५० बिघाभन्दा बढी जग्गा गौशालाका लागि उपलब्ध गराइएको थियो । उक्त जग्गा २०२२ सालको नापीमा लालपुर्जा नै उपलब्ध गराइएकामा अहिले अतिक्रमित हुने क्रम बढेको उक्त नगरपालिकाको पडरिया निवासी बोर्डका सदस्य रामचन्द्र कुशवाहा बताउनुहुन्छ । “गौशालाको धेरै सम्पति अतिक्रमण भयो, संरक्षण गर्ने कोही भएनन्” उहाँ भन्नुहुन्छ,“यसलाई रामपुर विश्वविद्यालयको अङ्ग बनाएर अघि बढाइए शिक्षाका क्षेत्रमा पनि ठूलो उपलब्धि हुनसक्छ ।”

गौशालाको प्रशस्त पूर्वाधार र उब्जाउ जग्गा भए पनि यसको व्यवस्थापकीय जिम्मेवारीमा लापर्वाह देखिएको नगरप्रमुख डा दीपेन्द्र महतो बताउनुहुन्छ । सम्पतिको संरक्षणप्रति कसैको चासो छैन, गौशालाका गाईको कन्तविजोग देखिन्छ । विसं २०६७ मा गौशालाको व्यवस्थापकीय जिम्मेवारी सरकारले बोर्डमा सारेपछि झनै अस्थव्यस्त बनेको उहाँको ठम्याइ छ । यसलाई कृषि शिक्षाकै एउटा पाटोमा जोडेर पशुपालनसम्बन्धी अध्ययनको थलो बनाउन सके दिगो विकास तथा उपलब्धिमूलक हुनसक्ने र यस्तो जिम्मेवारी हस्तान्तरणको कुरामा नगरपालिकालाई मुख्य संरक्षक बनाउनपर्ने नगरप्रमुख डा महतो बताउनुहुन्छ ।
अहिले पनि गाई गौशालामा ३०० सङ्ख्याको हाराहारीमा गाई छन् । गौशालाको रेखदेखमा अधिकृतसहितको २१ कर्मचारीको दरबन्दी छ । अत्यन्त उब्जाउ १५० बिघा जग्गा अहिले पनि छ तर गौशालाको बेहाल रहेको गौशाला–४ का समाजसेवी अजय कुशवाहा बताउनुहुन्छ । बोर्डको बेवास्थाका कारण निगौल गाईको उचित रेखदेख, पौष्टिक आहार र उपचार नपाएर दुब्ला र पातला देखिन्छन् ।

“न गाईलाई उचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन्” कुशवाहा भन्नुहुन्छ, “मानौँ गौशालाका गाई थुनिएका कैदी हुन् !” खानपानको उचित प्रबन्ध र उपचार नपाएरै गाई जिङ्राउँदै मर्ने क्रम बढेको उहाँको भनाइ छ । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् । हिन्दू परम्परामा गाई पुज्य मानिए पनि अहिले गौशालाको गाईको अवस्था विजोग छ ।

“सबैजसो गाईका करङ देखिएका छन्, हाडछालामात्र देखिन्छ” गौशाला–४ रजखोरकै विमल सुवेदी भन्नुहुन्छ, “सम्भार गर्न नसकिने गाई सरकारले गौशालामा राखेर किन विजोग देखाएको होला, गौशालाको बेथिति र गैरजिम्मेवारपनले यहाँ ओरपरका बासिन्दा आजित भइसकेका छन् । कर्मचारी त जागिर खानमात्रै यहाँ देखिने हुन् । ”

नवराजपुरकै गृहिणी शिलवती महतो भन्नुहुन्छ, “यो विजोग देखाउन भन्दा त जङ्ल धपाइदिए विजोग त हेर्न पर्दैनथ्यो ।”

गौशालाका कर्मचारी भने गाईको उचित रेखदेख र खानपानका लागि बोर्ड उदासिन रहेको बताउँछन् । बोर्डले कुनै वास्ता नगर्दा गौशाला धान्न हम्मेहम्मे पर्ने गरेको कर्मचारीको भनाइ छ । गौशाला सञ्चालनका लागि प्रशस्त (१५० बिघा) जग्गा छ । जग्गामा घाँस र अन्यबाली नलगाउँदा गाईलाई आहाराको अभाव भएको गौशालाबासी बताउँछन् ।

“गाईकै खानपान र प्रबन्धका लागि जग्गा हो नि तर त्यो जग्गा जोतभोग गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै हुन्छ” गौशालासँगै जोडिएको रजखोर बस्तीका मनोज थापा मगर भन्नुहुन्छ, “विगतमा सम्पन्न मानिने गौशाला पछिल्ला केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीयतहको बेवास्ताले विजोगको अवस्थामा पुगेको हो ।”

गोठमा १०औँ वर्ष पालिएका गाईले बहर (प्रजननक्रिया) लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । गौशालामा अहिले करिब २० वटा दूध दिने गाई छन् । यी गाईबाट दैनिक १५÷१६ लिटरमात्र दूध सङ्कलन हुन्छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको व्यवस्थापन पक्षको स्वीकारोक्ति छ ।मुलुककै जेठो गौशालाको अवस्था चिन्ताजनक बनेको सुन्दा इतिहासकार दिनेशराज पन्त पनि चिन्ता व्यक्त गर्नुहुन्छ । “विक्रम सम्वत् १९९७ मा काठमाडौँ पशुपति क्षेत्रमा मारवाडी समुदायले गौशाला स्थापित गरेका हुन्, यो गौशाला त त्योभन्दा १४ वर्ष जेठो र सम्पति भएको संस्था हो” उहाँ भन्नुहुन्छ, “यसको उचित व्यवस्थापनमा सरकार र सम्बद्धपक्षको ध्यान तत्काल पुग्न आवश्यक छ ।”गौशालालाई व्यवस्थित गर्न शिक्षासँग जोड्नपर्ने माग जनस्तरबाटै उठेको र यसमा स्थानीयतह, प्रदेश र सङ्घीय सरकारले यथासक्य चाँडो पहल गर्नुपर्ने नगरवासी बताउँछन्

About the author

janaawaaj