चुनाव जितेर पनि सरकारमा जादैनौंः गजुरेल

नवलपुर – नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आफूहरुले जितेर पनि सरकारमा नजाने बताएका छन् ।
देजमो नवलपुरले सोमवार कावासोतीमा गरेको चुनावी प्रचारप्रसार तथा भण्डाफोर सभामा बोल्दै गजुरेलले आफूहरुले चुनाव जिते पनि सरकार नबनाउने बताए ।  ‘चुनाव जितेर हामी सदन र सडक दुवै मोर्चाबाट आन्दोलन गर्छौै,’ गजुरेलले भने, ‘यो संविधान मान्दैनौं, हामी जनसंविधान बनाउछौं ।’


उनले अहिलेको चुनावमा बनेका दुई गठबन्धनको पनि चर्को आलोचना गरे । गजुरेलले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई वामगठबन्धन मान्न नसकिने र कांग्रेस सहितको गठबन्धनलाई लोकतान्त्रिक गठबन्धन मान्नै नसकिने बताए । ‘बाम गठबन्धन भएको भए हामीहरु र विप्लवहरु पनि त्यही गठबन्धनमा हुन्थ्यौं,’ उनले प्रश्न गरे, ‘बाम गठबन्धनकै नेताहरुलाई ताकि ताकि किन बम पड्काउनु पर्दथ्यौं ?’

एमाले र माओवादी केन्द्रले आफूलाई वामगठबन्धन भन्दै भ्रम छरेको उनले आरोप लगाए । वामपन्थी पार्टी कहिले पनि सरकारमा नजाने भन्दै सरकारमा जाने पार्टी कुनै पनि हालतमा वामगठबन्धन नहुने उनले बताए ।

गजुरेलले अहिले दुई दलले सिण्डिकेट लगाउदै निषेध गर्ने उद्देश्यले तीन प्रतिशतको थ्रेस होल्ड लगाएको र तीन प्रतिशत मत ल्याएमा बढाएर पाच प्रतिशत थ्रेस लगाउने भन्दै दुई दलीय सिण्डिकेटको विरोध कायमै राख्ने बताए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी नवलपुरका इन्चार्ज एवम् केन्द्रीय सदस्य तथा समानुपातिकतर्फका उम्मेदवार अशोक लम्साल, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार पिताम्बर तिवारी, प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार नारायण पंगेनी लगायतले सम्बोधन गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका थिए ।

पाँच शहीदलाई माल्यार्पण 


चुनावी प्रचार अभियानका क्रममा सोमवार नवलपुर आएका देजमो अध्यक्ष गजुरेलले सभाअघि कावासोतीमा निर्मित पाच शहीदलाई माल्यार्पण गरेका थिए ।
कावासोतीको थानाचोकमा निर्माण गरिएका नेपालको प्रथम शहीद लखन थापा, राष्टिय आन्दोलनका शहीद भीमदत्त पन्त, जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल, जनयुद्धका क्रममा नवलपरासीको प्रथम शहीद फूलमाया सारु र ०६२÷६३को जनआन्दोलनका शहीद विष्णु पाण्डेको शालिकमा गजुरेलले माल्यार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *