माथिल्लो तामाकोसी सेयर, दोलखावासी कसले कति पाउँछन् ?

स्वदेशी लगानीमा निर्माणाधिन बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले साउन १६ देखि भदौ १४ सम्म सेयर संकलन गर्ने भएको छ । संकलन गर्ने भएसँगै दोलखाबासी अहिले सेयर रकम जुटाउन व्यस्त छन् ।

जिल्लाका धेरैजसो नागरिकलाई कति रकम जम्मा गर्न पाउने र कति सेयरको हिस्सा पाइन्छ भन्ने जानकारी नहुँदा अन्योल छाएको छ । यसबारे तल्लो तहसम्म पुग्ने गरी सुचनाप्रवाह नगर्दा स्थानीयमा अन्याल छाएको हो । चार वर्ष अघि तत्कालिन जिल्ला विकास समितिले तयार गरेको सर्वेक्षणका आधारमा सेयर वितरण मोडालिटीका आधारमा माथिल्लो तामाकोसीले सेयर आह्वान गरेको हो ।

ठुला आयोजनाहरुमा प्रभावित क्षेत्रका नागरिकहरुलाई छुट्टयाइएको सेयर शतप्रतिशत मानिसहरुले लगानी गरेको कम मात्रै उदाहरण रहेको जलविद्युतका जानकारहरु बताउँछन् । दोलखामा भने वर्षौ देखि माथिल्लो तामाकोसीलाई अत्याधिक चर्चा गरिएकै कारण पनि बहुसंख्यक स्थानीय सेयर लगानी गर्न आतुर भएका हुन् । चार वर्ष अगाडि गरिएको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या दुई लाख ८२ हजार एक सय २५ छ । जसमा अतिप्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र बाँकी क्षेत्रको जनसंख्या एक लाख ९५ हजार ६ सय ९४ छ । आयोजनाको २०७५ जेठ मसान्तसम्म ९६ प्रतिशत काम पुरा भएको छ ।

जन्मदर्ता भएका बालबालिकाले पनि सेयर पाउने
दोलखावासी मध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मदर्ता भएका बालबालिका देखि विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाण पत्रका आधारमा सेयर पाउनेछन् । अन्यको हकमा दोलखा जिल्लावासी भएको नागरिकता प्रमाण पत्र अनिवार्य चाहिन्छ । तर जिल्ला बाहिर विहे गरेर गएका चेलीहरुलाई भने सेयर पाउनबाट वञ्चित गराइएको छ ।

‘क’ र ‘ख’लाई बढी सेयर आरक्षण
क’ र ‘ख’ वर्गलाई बढी सेयर छुट्याइएको छ । तर खरिद प्रक्रियामा सबैले न्यूनतम् तीन हजारको ३० कित्तादेखि बढीमा ३० हजारको तीन सय कित्तासम्म खरिद गर्न सक्नेछन् ।

आयोजनाले पहिलो चरणमा आर्थिक वर्षको मसान्त र मध्ये वर्षामा सेयर खोलेकाले स्थानीयलाई भने केही असहज हुने देखिएको थियो । तर चौतर्फी आलोचना पछि आयोजनाले मिति सच्याएर झण्डै ३ साता पछि धकेलेको छ । जसका कारण सेयर लगानी गर्ने दोलखालीको संख्यामा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

५० अर्ब खर्च
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएकोमा निर्माण अवधी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य लगायतका कारणले अहिलेसम्म करिब ५० अर्ब खर्च भइसकेको आयोजना स्रोतले जनाएको छ । आयोजना पुरा हुँदासम्म झण्डै ६० अर्ब खर्च हुने जनाइएको छ । बढ्दो ब्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ ।

आयोजनाल यही असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखे पनि भारतीय निर्माण कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेका कारण सो लक्ष्य पुरा हुने सम्भावना न्युन छ ।

डिम्याट खाता ऐच्छिक
तामाकोसीका लागि दोलखाबासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितो पत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे पनि धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गरेको हो ।

साधारण सेयरमा अपर तामाकोशी आयोजना निर्माण स्थल गोंगर तथा चरिकोटमा रहेका विभिन्न बैंकका शाखा कार्यालयहरुबाछ आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७ दशमलव २८, स्थानीयको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २ दशमलव ८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *