मुलुक समृद्ध बनाउन यातायात क्षेत्रमा परिवर्तन आवश्यक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले सबै नेपालीलाई समृद्ध बनाउने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको बताएका छन् । गृहमन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गरेको पनि स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा कायम गरिएको सिन्डिकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने पनि स्मरण गराए । उनले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताए । मन्त्री थापाले सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गरे ।

गृहमन्त्री थापाले मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको पनि बताए । उनले बहुसंख्यक गरिव नेपालीहरु र रोजगारीको खोजीमा विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको पनि बताए ।

गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *