भुइँचालोपछि चउरमा पढाए पनि खस्किएन पद्मोदयको नतिजा

सुष्मा झा चार कक्षासम्म निजी स्कुल पढ्थिन्। एक वर्ष सरकारीको अनुभव लिन पद्मोदय माध्यमिक विद्यालय भर्ना भइन्।

अहिले उनी नौ कक्षामा छिन्। पद्मोदयमै पढ्छिन्।

‘एक वर्ष पढिहेरुँ भनेर आएको, यहाँको वातावरणले गर्दा छोड्नै सकिनँ,’ उनी भन्छिन्, ‘हामीकहाँ सबै सरकारी स्कुललाई एउटै आँखाले हेर्ने चलन छ। तर, यहाँको पढ्ने र सिक्ने वातावरण पहिलेको निजी स्कुलभन्दा राम्रो पाएँ।’

 

रामशाह पथस्थित पद्मोदयमा सुष्माजस्ता थुप्रै छन्, जो निजी स्कुल छाडेर पढ्न आएका हुन्। उनीहरूलाई यो सरकारी स्कुल कुनै दृष्टिले निजीभन्दा फरक लाग्दैन। करिब नौ सय विद्यार्थीको शैक्षिक गन्तव्य बनेको पद्मोदयमा निजीले दिने प्राय: सुविधा छन्।

सरकारी भएर पनि अभिभावकको विश्वास जित्न सफल यो स्कुलको बागडोर तीन वर्षदेखि प्रधानाध्यापक मीना कोइरालाको हातमा छ।

‘हामीकहाँ निजी स्कुलले दिने सबैजसो सुविधा छ। त्योभन्दा बढी हामी आफ्ना विद्यार्थीलाई पारिवारिक वातावरण दिन्छौं,’ उनले भनिन्।

त्यही विश्वासको परिणाम हो, भुइँचालोले २६ वटा कोठामा क्षति पुगे पनि विद्यार्थीको आकर्षण घटेको छैन। भुइँचालोले क्षति पुगेका संरचना बन्न नसक्दा कतिपय कक्षा स्कुलको चउरमै सञ्चालन भइरहेका छन्, तर विद्यार्थीको वृद्धिदरमा कमी आएको छैन। न स्कुलको एसइई नतिजा खस्किएको छ।

पद्मोदयबाट यस वर्ष ६६ जनाले एसइई दिएकामा ‘बी’ भन्दा तल कसैले ल्याएनन् भने ‘ए प्लस’ ल्याउने दुई जना छन्।

‘कोठा नभएर राम्ररी कक्षा सञ्चालन गर्न पाएनौं। तैपनि नतिजा खस्किएको छैन। चाहेअनुसार ल्याउन नसकेको पक्कै हो,’ कोइरालाले भनिन्, ‘पूर्वाधार समस्या नभइदिएको भए योभन्दा धेरै राम्रो नतिजा आउँथ्यो।’

उनी नेतृत्वमा आएकै वर्ष भुइँचालोको कहर बर्सिएको थियो। विपतको घडीमा पनि स्कुललाई चाहिने सामग्री अभाव हुन नदिएको उनी बताउँछिन्।

‘भुइँचालोले भौतिक पूर्वाधारमा क्षति पुर्याएको थियो, हाम्रो मनोबल भने घटाएको थिएन। संरचना ढले पनि शैक्षिक वातावरण र शैली हामीसँगै थिए। त्यसैलाई समेट्यौं, भएका चिजबिज व्यवस्थापन गर्दै लग्यौं। शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला सबैको सहयोगमा यो सम्भव भएको हो,’ उनले भनिन्।

२००३ सालमा स्थापना भएको यो स्कुलले गएका वर्ष पनि राम्रो नतिजा ल्याउँथ्यो। २०५२ सालतिर केही गिरावट आएको देखिन्छ, नभए अरु वर्ष निजी स्कुलभन्दा कम छैन। पहिले पनि कमै मात्र विद्यार्थीको तेस्रो डिभिजन आउँथ्यो।

कोइराला आफू प्रधानाध्यापक भएपछि त्यसैलाई निरन्तरता दिँदै थप सुधार्ने प्रयासमा लागेको बताउँछिन्।

 

उनले स्कुलको क्यालेन्डर तलमाथि हुन नदिई कक्षा सञ्चालनमा जोड दिँदै आएकी छन्। माथिल्लो कक्षाका विद्यार्थीलाई एसइई निम्ति तयार पार्न प्रत्येक शनिबार परीक्षा लिइन्छ। कमजोर विद्यार्थी पहिचान गरेर अतिरिक्त कक्षा सञ्चालन गरिन्छ। कक्षा ५ भन्दा तलकालाई अंग्रेजी माध्यमबाट पढाइन्छ भने माथिल्ला कक्षामा विज्ञान, गणित र वातावरण अंग्रेजीमा पढाइन्छ। साना कक्षामा अंग्रेजीबाट पढाउँदा आधार मजबुत हुने र यसले एसइई परीक्षामा सहयोग गर्ने कोइराला बताउँछिन्।

सरकारी स्कुल पढ्ने धेरै विद्यार्थी अंग्रेजी, विज्ञान र गणितमा कमजोर पाइएको छ। अंग्रेजीकै कमजोरीले यी तीन विषय बुझ्न समस्या छ।

‘मेरो कार्यकालमा शनिबार लिइने जाँच निरन्तर गरेकी छु। विद्यार्थीलाई स्थलगत अध्ययनमा विभिन्न ठाउँ लैजाने र प्रयोगात्मक अभ्यासमा जोड दिने गरेका छौं। विद्यार्थीलाई प्रोजेक्ट वर्क, ग्रुप वर्कमा पनि सहभागी गराउँछौं,’ उनले भनिन्।

शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षकले पनि विद्यार्थीमा उत्प्रेरणा जगाउनुपर्नेमा उनको जोड छ।

यसनिम्ति विद्यार्थीको आत्मविश्वास र मनोविज्ञान बुझेर पढाउनुपर्ने शिक्षक विनोद भट्ट बताउँछन्।

‘सरकारी स्कुलमा पढ्ने धेरै विद्यार्थीको आधार कमजोर हुन्छ,’ उनले भने, ‘पाठ्यक्रम पढाउनुअघि उनीहरुको आत्मविश्वास बढाउने र उनीहरुलाई जिम्मेवार बनाउनेतिर हाम्रो जोड हुनुपर्छ।’

‘सबै विद्यार्थीको शैक्षिक क्षमता एकनास हुँदैन। को कुन विषयमा कमजोर छ पत्ता लगाउने अभिभारा शिक्षकहरूकै हो। हामीले कमजोर विद्यार्थीलाई उनीहरूकै हालमा छाड्ने होइन। यसले उनीहरू झन् झन् तल जान्छन्। उनीहरूको पढाइमा विशेष ध्यान दिएर तान्दै ल्याउने हो,’ भट्टले भने।

यही शैलीले अन्य सरकारी स्कुलको दाँजोमा विज्ञान, गणित र अंग्रेजी विषयमा पनि पद्मोदयले राम्रो नतिजा ल्याइरहेको उनले बताए।

अंग्रेजी शिक्षक ओमप्रकाश बञ्जाडे विद्यार्थीको आत्मविश्वाससँगै मनोविज्ञान बुझेर पढाउने गरेको बताउँछन्। उनी विद्यार्थीलाई तीन समूहमा छुट्याउँछन्। जान्ने र नजान्ने दुवैलाई अगाडि बोलाएर अभ्यास गराउँछन्। यसले विद्यार्थीमा लाज र हिनताबोध हटेर जाने उनको भनाइ छ।

अर्को सबल पक्ष हो, विद्यार्थीको अनुशासन।

‘निजी स्कुलमा पढ्ने विद्यार्थी अनुशासित हुन्छन्, सफासुग्घर हुन्छन्, तर सरकारीमा पढ्ने त्यस्ता हुँदैनन् भन्ने भ्रम चिर्न हामीले विभिन्न उपाय अपनाएका छौं,’ कोइरालाले भनिन्, ‘विद्यार्थीलाई अनुशासित बनाउन स्कुल युनिफर्ममा मात्र आउने व्यवस्था गरेका छौं। विद्यार्थीलाई सधैं गृहकार्य गराउन डायरीको नियम छ। विद्यार्थीले नराम्रो काम गरे कक्षा शिक्षकले सिधै अभिभावकसँग सम्पर्क गर्छन्। राम्रो नतिजा नआए पनि अभिभावकलाई डाकेर सरसल्लाह गर्छन्।’

यो स्कुलमा पढ्ने विद्यार्थी प्राय: निम्न र मध्यमवर्गीय परिवारका छन्। केटाकेटीलाई स्कुल पठाएपछि आफ्नो जिम्मेवारी सकिएको ठान्ने प्रवृत्तिले शैक्षिक स्तर कमजोर हुन्छ। स्कुलहरूले अभिभावकसँग अन्तर्क्रिया गरेर यसमा सुधार ल्याउनुपर्नेमा उनको जोड छ।

‘पढाउने भनेको पाठ्यक्रम घोकाउने होइन। पढ्ने वातावरण बनाइदिने हो। पढ्ने हुटहुटी जगाइदिने हो। यसमा अभिभावकको पनि भूमिका हुन्छ। हामी शिक्षकको जोड यसैमा हुनुपर्छ,’ उनले भनिन्, ‘कुनै पनि परीक्षाको नतिजा त्यसको प्रतिविम्ब हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *