शान्ताकुमारी भन्छिन्, ‘माया भनेको झुट रैछ’

शान्ताकुमारीले जीवनको सत्य सुनाइन्– माया भनेको झुट रैछ ! माया गरेर के गर्नु, आफ्नै सामुन्ने आठ छोराछोरी मर्दा पनि सँगै जान सकिएन । जेसुकै परे पनि बाँच्न खोज्छौँ । बाँचेपछि यो संसार देख्न पाइन्छ भन्ने लोभ हुँदो रैछ ।


हातमा सधैँ पानीको बोतल हुन्छ । ‘नानी एउटा पानी किनिदिनोस् न !’ यो उनको मन्त्रजस्तै हो । आउने–जाने हरेक मान्छेसँग उनी यही आग्रह गरिरहेकी हुन्छिन् । वसन्तपुरको कालभैरव मन्दिरछेउछाउ । बिहानै ५ बजेदेखि साँझ ७ बजेसम्म त्यहाँ भेट्न सकिन्छ, पानीको बोतलमा जीवन खोजिरहेकी शान्ता कुमारी केसीलाई । सधैँ साडी–चोलो लगाएर आइपुग्ने उनका आँखा चाउरीले पुरिएका छन् । कपाल हिउँ परेको डाँडाजस्तो सेताम्मे छ । झर्दा–झर्दा थोरै बाँकी रहेको कपालको सानो ‘पम्फा’ बाँधेकी छिन् । माथिल्ला पंक्तिका दाँत छैनन् । उनी हाँस्दा उनका चाउरीमा जीवनको अर्गानिक आनन्द झल्किन्छ ।

‘उमेर कति भयो आमा ?’ भन्छिन्, ‘साठीमा पन्ध्र भयो बाबु !’ उनलाई आफू काठमाडौं आएको वर्ष ठ्याक्कै थाहा छैन, तर बुढ्यौली अनुमानमा भनिन्, ‘लगभग ७–८ वर्ष भयो । १८ वर्षको उमेरमा बिहे भयो । श्रीमान् थिए २७ वर्ष जेठा । सौतामाथि गएकी थिएँ ।’ जेठी श्रीमतीले छोरो नपाएका कारण उनलाई लगिएको थियो ।

शान्ताका १३ सन्तान भए । आठवटा मरे । पाँचवटा जीवित छन् । एकै वर्षमा १२ दिनको अन्तरमा १० वर्षीय छोरा, पाँच वर्षीया छोरी र तीन वर्षीय छोराको मृत्यु पनि देखिन् । आमाका लागि योभन्दा ठूलो पीडा के हुन सक्छ र ! उनी निन्याउरो मुख लगाउँदै भन्छिन्, ‘माया भनेको झुट रैछ बाबु !’ एकैछिन रोकिन्छिन् र फेरि भन्छिन्, ‘माया गरेर के गर्नु, आफ्नै सामुन्ने छोराछोरी मर्दा पनि सँगै जान सकिएन । मान्छे लोभी हुन्छन् बाबु, जेसुकै परे पनि बाँच्न खोज्छौँ ।’ म ‘किन बाँच्न खोजिन्छ होला आमा ?’ भन्छु, उनी भन्छिन्, ‘बाँचेपछि यो संसार देख्न पाइन्छ भन्ने लोभ लाग्दो रैछ ।’

हरेक मान्छेको जिउने तरिका फरक हुन्छ । आफ्नै तरिकाले जिन्दगी चलाउने गर्छन् । जीवनको सार के हो ? यतातिर नजाऔँ, जीवन कसरी बाँच्दा मानिस खुसी हुन्छ ? यसको पनि मान्छेपिच्छे फरक उत्तर होलान् । शान्ताकुमारी केसीको बुझाइमा ‘जीवन भनेको उपहार हो, भगवान्ले दिएका’ । उनको अनुभवमा ‘मान्छेबाट दुःख भाग्दैन र हामी पनि दुःखबाट भाग्नुहुन्न ।’

०००
शान्ता सुरुमा बिरामी भएर काठमाडौं आएकी थिइन् । त्यसपछि यतै बसिन् । अचेल पनि रोग निको भएको छैन । औषधिका लागि मासिक पाँच हजारजति खर्च हुन्छ । महिना–महिनामा जँचाउन गइरहनुपर्छ । श्रीमान् छैनन् । छोरी, ज्वाइँ र नातिनीसँग बस्छिन् । कहिलेकाहीँ कोठाको भाडा पनि तिर्छिन् । ती सारा कुरा पानी र परेवाको दाना बेचेको पैसाले जोहो गर्छिन् ।

व्यापारमा कहिले चार–पाँच सय नाफा हुन्छ, कहिले एक–दुई सय । उनी बस्ने ठाउँ वसन्तपुरपछाडि नरदेवी हो । उनलाई काम नगरी बस्न मन लाग्दैन । सकेसम्म आफैँ गर्न खोज्छिन् । भन्छिन्, ‘पाँचजना छोराछोरी छन् । उनीहरूको कति आस गर्नु, उनीहरूले उनीहरूका छोराछोरी पनि पाल्नुपर्छ ।’ फेरि आस गरे पनि छोराछोरीले खासै गर्न नसक्ने बताउँछिन् । दश वर्षसम्म अझै आफैँ गर्छु भन्ने हिम्मत छ, उनलाई ।

वसन्तपुरमा पानी र परेवाको दाना बेच्दा पनि उनलाई दुःखले सताइरह्यो । एकपटक महानगरका मान्छे आएर उनलाई लखेटे । उनीहरूले दाना, पानी खोसेर लगिदिए । वसन्तपुरमा फोहोर भयो भने । उनी भागिन् । पर पुगेपछि लडिन् । उनको झोलामा दाना थियो र हातमा पानी । पानी र दाना छातीले थिचिन् । चार–पाँचजनाले खोस्न खोज्दा पनि दिइनन् । बरु त्यहीँ रोइदिइन् । त्यो घटना सम्झँदै भन्छिन्, ‘यदि उनीहरूले खोसेर लगिदिएका भए मेरो एक महिनाको कमाइ जान्थ्यो बाबु !’

वसन्तपुरमा उनमा ग्राहक प्रायः जोडीहरू हुन्छन् । पानी किनिदिएपछि उनीहरूलाई आशीर्वाद दिन्छिन् । कतिले त उनलाई नराम्रो व्यवहार पनि गर्छन् । त्यस्तो गर्दा उनले चित्त दुखाउन छाडिसकिन् । भन्छिन्, ‘बानी परिसक्यो बाबु ! चित्त दुखाएर पनि कहाँ जानु र ! फेरि यहीँ आउनुपर्छ ।’ कतिले भने मीठो बोल्छन्, राम्रो व्यवहार गर्छन् । त्यस्ता मान्छे भने उनलाई आफ्नै सन्तानझैँ लाग्छ । उनीहरू फेरि आउँदा परैबाट चिन्छिन् । बोलाउँछिन् ।

उनको जीवन वसन्तपुरको कालभैरवतिर नै बितिरहेको छ । दैनिक १२–१३ घन्टा त्यहीँ हुन्छिन्, उनी । भर्खरै एकजना बूढी आमा त्यहीँ अगाडि मरेकी रहिछन् । बूढी आमाको बेवारिसे लास हेर्दै उनले भनिन्, ‘आफन्तले नै त्यहाँ ल्याएर राखेको रे बाबु ! तर, मलाई चाहिँ मेरा सन्तानले त्यसो नगरिदिए स्वर्ग जाने थिएँ ।’
०००
आमासँग छुटिने वेलामा एउटा पानी किन्छु, पिउँछु र भन्छु, ‘आमा तपाईंका पनि त कुनै दिन सुखका दिन आउलान् नि !’ उनी एकछिन गम्भीर हुन्छिन् । लामो सास तान्दै शान्त भएर भन्छिन्, ‘दुःख लिएरै आएकी हुँ, पानीको बोतल बेचेर कहाँ सुख किन्न सकुँला र बाबु !’

दृश्य : १
उनी घरि यता जान्छिन्, घरि उता । घरि तल झर्छिन्, घरि माथि उक्लिन्छिन् । पर्तिर जान्छिन्, कसैले पानी किनिदिन्छन् कि भन्ने आशा बोकेर, तर किनिदिँदैनन् । फेरि तलतिर झर्छिन्, त्यहाँ पनि असफल हुन्छिन् । निराश हुन्छिन् । आफूले पानीका बोतल राखेको ठाउँमा फर्किन्छिन् । टोलाउँछिन् र एकैछिन आँखा बन्द गर्छिन् । लामो सास तान्छिन् । आँखा खोल्छिन् । फेरि बोतल हातमा लिन्छिन् र उही प्रक्रिया दोहो-याउँछिन् ।

दृश्य : २
एउटी बच्ची र आमा बसिरहेकी हुन्छिन् । उनी तिनीहरूको नजिक जान्छिन् । बच्चीकी आमा पानी किन्दिनन् । शान्ता बच्चीलाई बोलाउँछिन् । मुसुक्क हाँस्छिन् । बच्ची पनि हाँस्छिन् । बच्चीसँग बोल्न बच्चीका छेउमा बस्छिन् । तर, अचानक बच्चीकी आमाले छोरीलाई उठाएर लैजान्छिन् । शान्ता आमा–छोरीलाई परसम्म हेरिरहन्छिन्, अघिसम्मको हँसिलो अनुहार निन्याउरो बनाउँछिन् । एकछिनपछि उनी बोतल बोकेर मान्छेहरू बसिरहेका ठाउँतिर लाग्छिन् ।

दृश्य : ३
साँझको समय । उनी कोठा फर्किने तरखरमा छिन् । पानीका बोतल र परेवाका दाना झोलामा हालिरहेकी हुन्छिन् । उनी बसेको ठाउँमा अर्की त्यस्तै पानी बेच्ने आमा आउँछिन् । खल्तीबाट पैसा निकालेर गन्दै खुसी भएर भन्छिन्, ‘आज त चार सय नाफा भएछ । अनि तिम्रो कति भयो नि ?’ उनी सानो स्वरमा भन्छिन्, ‘आज त जम्मा तीन बोतल पानी त गयो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *