अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो हेर्नुहोस् कति पुग्यो सतही दर ?

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विक्रीदर १ सय १० रुपैयाँ ३८ पैसा तोकेको छ । मंगलबार डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर हो ।

पछिल्लो समय डलरसँग भारु कमजोर बन्दै गएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपालले भारतसँग स्थिर विनिमय कायम गरेकाले डलरसँग भारुको सन्तुलनले नेपाली रुपैयाँको डलरसँगको विनिमय कायम गर्छ । यस्तै, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेकोले पनि डलरमा चाप परेको हो । साथै, पछिल्लो समय भारतको निर्यात घटेर आयात बढ्दा डलर बाहिरिने हुँदा भारु कमजोर बनेको हो ।

डलरको मूल्य बढ्दा नेपाललाई धेरै घाटा भए पनि केही फाइदा भने हुन्छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ र निर्यात व्यापारलाई राहत मिल्छ । यस्तै, वस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुन्छ । पछिल्ला वर्षहरूमा नेपालको निर्यात खस्कदो रहेकोले नेपाललाई खासै फाइदा भने हुँदैन । तर, आयातित वस्तुको मूल्य बढी भइ झन् घाटा हुन्छ । नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकोले डलरको मूल्यवृद्धिले नेपाली बजार डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्दछ । त्यसैले भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुन्छ ।

यस्तै, विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा पनि वृद्धि हुने भएकाले उत्पादित बस्तुको लागत वृद्धि भएर बजारमा उपभोग्य वस्तुको मूल्य बढी पर्दछ । यसैगरी, डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा पनि अतिरिक्त भार पर्दछ ।

नेपालमा नेपाली मुद्रा चलाउने उद्देश्यले नेपाल राष्ट्र बैक २०१३ सालमा स्थापना भएको थियो । राष्ट्र बैंक सञ्चालनको करिब ८ वर्षपछि डलरको विनिमयदर लिखत राख्न थालिएको हो । राष्ट्र बैंकले डलरको विनिमय दरको औपचारिक लिखत २०२१ सालबाट राख्न सुरुगरेको हो । पछिल्लो एक महिनायता डलरको भाउमा वृद्धि हुँदै आएको छ । यसअघि सन् २०१६ मा एक डलर बराबर १ सय १० रुपैयाँ २८ पैसा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *