वेदको धुनमा फुटबलको उल्लास

काठमाडाैं – मुडुलो टाउकोको बीचमा लामो टुपी। सेता–पहेंला धोती, राता–निला गन्जी । नाङ्गो खुट्टा फुटबलको पछि दौडिँदै गरेका कलिला अनुहार। रुसमा जारी विश्वकप ‘फिबर’ यति बेला पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई पनि छोएको छ।

पाँच हजार वर्ष पुरानो वैदिक शिक्षा लिँदै गरेका उनीहरुले आधुनिक फुटबल खेलसँग पनि आफूलाई जोडेका छन् । हरेक बिहान वेदको धुनमा रमाउने उनीहरु विद्यालयको पढाइ सकेपछि फुटबलको उल्लासमा रमाउँछन् । बिहान शान्ति–शान्ति भन्दै मन्त्र पाठ गर्ने उनीहरु दिउँसो गोल–गोल भन्दै रमाइरहेका छन् ।‘वेदले हामीलाई शान्ति दिन्छ,’ कक्षा १० मा अध्ययनरत उमेश पोखरेलले भने, ‘फुटबलले हामीलाई खुसी दिन्छ ।’ धार्मिक व्यक्तित्वमा शंकराचार्यलाई मन पराउने उनी फुटबलमा रोनाल्डोलाई मन पराउँछन्। ‘जिते पनि हारे पनि रोनाल्डो मन पर्छ,’ उनले भने, ‘त्यसैले अहिले उनकै देशको गन्जी लगाएर खेल्दैछु।’

उनीहरु हरेक दिन बिहान ५ बजे उठ्छन्, नित्य कर्म गर्छन्, गायत्री मन्त्र जप्छन्, वेद पढ्छन्, हवन गर्छन् । विद्यालयमा परम्परागत ज्ञान र आधुनिक शिक्षा दुवै पढ्छन् । त्यसपछि फुर्सद मिलाएर फुटबल खेल्छन । आश्रममा १० देखि १८ वर्ष उमेरका ४० विद्यार्थी छन्।

गुरुकुलमा उनीहरुलाई फुटबल खेल हेर्ने व्यवस्था छैन । यसले उनीहरुलाइ केही निराश त बनाएको छ तर फुटबलको खबर उनीहरुले हरेक बिहान पत्रपत्रिकाबाट पाउँछन् । ‘बिहान उठ्नेबित्तिकै पत्रिका नियाल्छौं,’ कक्षा ७ मा अध्ययनरत १३ वर्षीय रोजश पराजुलीले भने, ‘पत्रिकाबाटै हामीले सबै थाहा पाउँछौं ।’ उनी जापानको खेल मन पराउँछन् । उनलाई मनपर्ने खेलाडी पनि जापानकै होन्डा हुन् । गुरुकुलको नियमका कारण मन पर्ने खेलाडीलाई टिभीमा हेर्न नपाए पनि गुनासो भने नरहेको उनले सुनाए । सन् २०२२ को विश्वकप भने टिभीमा हेर्ने रहर छ उनको । ‘त्यति बेला म गुरु कुलभन्दा बाहिर हुन्छु,’ उनले भने, ‘अनि टिभीमा लाइभ फुटबल हेर्छु ।’

भागवत सन्न्यास आश्रम एवं गुरुकुलमा वैदिक शिक्षा लिँदै गरेका उनीहरुले फुटबलसँग पनि आफूलाई जोडेका छन् । हरेक विहान वेदको धुनमा रमाउने उनीहरु विद्यालयको पढाइ सकेपछि फुटबलको उल्लासमा रमाउँछन् ।
आधुनिक जर्सीमा सजिएर गोटीवाला जुत्ता लगाएर खेलिने खेल उनीहरुले परम्परागत पहिरनमै खेलेका छन् । कोहीकोहीले भोटोको ठाउँमा मन परेको देशको जर्सी लगाए पनि जुत्ता भने कसैले लगाउँदैनन् । ‘धोती लगाउँदा पनि हामीलाई खासै अप्ठेरो हुँदैन,’ कक्षा ८ मा अध्ययनरत हरिशरण न्यौपानेले भने, ‘बरु सजिलै हुन्छ ।’ फुटबल खेल्दा खुसी मिल्ने भएकाले खुट्टा नदुख्ने उनले सुनाए । मेसीका फ्यान उनी अर्जेन्टिना हारे पनि दुःख नलागेको सुनाउँछन् । ‘हारजित त भइहाल्छ नि,’ उनले भने, ‘अब अगाडि राम्रो गर्छ भन्ने आशा गरेका छौं।’

‘खासमा विद्यार्थीलाई अष्टमी र प्रतिपदाको बिदामा खेल खेल्ने अवसर हुन्छ, ‘विद्यालयका शिक्षक अशोक पौडेल भन्छन्, ‘तर अहिले फुटबलको समय भएकाले कक्षा सकिएलगत्तै आँखा छलेर भए पनि खेल्न थालिहाल्छन्।’ खेलकुदले उनीहरुलाई खुसी दिने पौडेलले सुनाए। ‘परम्परागत ज्ञान र आधुनिक खेल दुवैमा उनीहरु रमाउँछन्,’ उनले भने, ‘डन्डीबियोमा पनि रमाउँछन्, फुटबलमा पनि खुसी हुन्छन् ।’

उनीहरु टिम बनाएर खेल्छन् । नाम पनि रमाइलो राख्छन् । कहिले ढुंगा–माटो, कहिले बर–पिपल । कहिले रोनाल्डो र मेसी टिम त कहिले बाल्मीकि र शंकराचार्य । ‘आज बरले पिपललाई हरायो,’ कक्षा ८ मा अध्ययरनत श्रीधर बडालले भने, मंगलबार नागरिकसँग भने, ‘जित्दा पनि हार्दा पनि उत्तिकै खुसी लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *