३ महिना त्रासमै बिताउँछन् सेतीवेणी बजारका बासिन्दा

सबैभन्दा ठूलो जलविद्युत परियोजना स्याङ्जाको कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाबाट प्रभावितको गुनासो विद्युत उत्पादनले दशक पार गर्दा पनि सम्बोधन नभएको पाइएको छ ।

स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थलका बासिन्दाको माग अहिलेसम्म पुरा नभएको हो । परियोजनाले कालीको पूर्वी किनार(स्याङजा र पर्वततर्फ) सम्झौता अनुरुप वाल नबनाएकाले आफूहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । गल्याङ नगरपालिका वडा नम्बर ५मा रहेको सेतीवेणी बजारका बासिन्दाले अब पनि वाल नबनाउने हो भने आफूहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न माग गरेका छन् । सधैं जनधनको असुरक्षा सहन र त्रासमा बस्नभन्दा बरु कतै स्थानान्तरण गरिदिनु पर्ने स्थानीय मधुसुदन हयजुले बताए । वर्षादको समयमा बजार डुवानमा पर्ने भएपछि यहाँका बासिन्दा झन्डै ३ महिना त्रासमा बस्न बाध्य छन् । कति रात बालबच्चा लिएरै माथि भिर नजिक विताएको हयजु सम्झन्छन् । ‘यही जन्म्यौैं, हुर्कियौं, बाबुबाजेको थाकथलो यही हो, उनले भने, ‘ज्यान नै जोगाउन नसकिने अवस्था आएपछि आफ्नो थलो छोड्दिन भनेर भएन, बाँच्न पुग्ने आधार दिएर कतै ब्यवस्था गरिदिए हामी यहाँबाट सर्न तयार छौं ।’

हयजुले सके अन्यत्र सार्न र नभए कालिगण्डकी किनारमा वाल उठाएर बस्ती जोगाउन आग्रह गरे । ‘हामीले धेरै नै आग्रह गरेको हो, स्थानीय सरकार, जिल्लामा सिडिओसाव र कालिगण्डकी जलविद्युत अयोजनालाई पनि भन्यौं, आक्रोस पोख्दै उनले भने, ‘कसैले हाम्रो कुरा सुनेन, असारमा आउनुहोस् र एक रात यहाँ बसेर बिताउनुहोस् अवस्था कस्तो छ, त्यो थाहा पाइहाल्नुहुन्छ ।’

स्थानीयका अनुसार कालिगण्डकी ए जलविद्युत आयोजना निर्माण गर्दा बनेको जलासय वर्षातको समयमा माथि आउँछ । त्यसपछि नदीको पानी बजारमै पस्दा सेतीखोला बग्न पाउँदैन । उर्लने पानीको बहावले कतिबेला घरसहित बगाएर लैजाने हो भन्ने त्रासमा स्थानीय लामो समय देखि बस्न बाध्य छन् । हयजुले कालिगण्डकी ए जलविद्युत अयोजनाले किनारमा ड्याम बनाइदिन्छु भनेपनि नबनाइदिएको गुनासो गरे । ‘हामीले धेरैपटक गुनासो गरेका छौं, कसैले सुनेनन्’ उनले भने ।

१२ घर पहिले नै विस्थापित

स्थानीयका अनुसार पानीको सतह माथि आउँदा त्यहाँ यस अगाडि नै १२ घर विस्थापित भइसकेका छन् । बाँकी घरमा पनि ठूलो बर्षा हुँदा पानीको सतह घर भित्रसम्म पुग्छ । झण्डै १ सय घर रहेको बताइएको तल्लो बजारमा ५० भन्दा बढी घर उच्च जोखिममा रहेका स्थानीय सुधन श्रेष्ठले बताए ।

अब काम हुन्छ विस्थापित हुनुपर्दैन : मेयर

गल्याङ नगरपालिकाका मेयर भूपराज अधिकारीले अब बस्ने नगर कार्यपालिका सभामा सेतीवेणीको समस्या समाधान गर्ने गरी योजना ल्याउने बताए । यसका लागि सेतीवेणीका स्थानीयसंग कुरा भइसकेको समेत उनले बताए । ‘नगरपालिकाको मेयरले बोलेको छु, त्यहाँका बासिन्दा ढुक्क हुनुहोस् अब योजनाका साथ त्यहाँ काम गर्छु,’ उनले भने, ‘कतै बसाई सर्ने या जोखिममा रहने अबस्था आइरहन दिन्न ।’

मेयर अधिकारीले सेतीवेणी बजारका बासिन्दाको माग सम्बोधन गर्न आफूले कालिगण्डकी ए जलविद्युत परियोजना र नेपाल विद्युत प्राधिकरणसंग समेत कुरा गरेर एकखालको सहमति नै गरिसकेको दाबी गरेका छन् ।

शालिग्राम परिक्रममा गर्न बञ्चित भक्तजन

पर्वत, स्याङ्जा र गुल्मीका सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको प्रदक्षिणा स्थलको पश्चिमी भाग नदीले कटान गर्दा यहाँ आउने भक्तजन शिलाको परिक्रमा गर्नबाट बञ्चित छन् । २०७२ मा कालिगण्डकीले निरन्तर कटान गर्दा प्रदक्षिण गर्न बनाइएको संरचना भत्किएको कालिग्राम धार्मिक तथा पर्यटन क्षेत्र विकास उप समितिका अध्यक्ष प्रेमप्रसाद अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *