गल्फ कोर्समा एक्लो नेता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ राम्रो खेल्छन् । फ्लोरिडामा उनको निजी गल्फ कोर्स नै छ । जापानी प्रधानमन्त्री सिन्जो आबे पनि गल्फका राम्रा खेलाडी हुन् । डेढ वर्षअघि एसिया भ्रमण गर्दै जापान पुगेका डोनाल्ड ट्रम्पसँग आबेले सुरुमै गल्फ कोर्समा भेटेको खबर विश्वभर फैलिएको थियो । उनी अमेरिका भ्रमणमा जाँदा पनि फ्लोरिडामा ट्रम्पसँग गल्फ खेलेका थिए ।

अमेरिकी पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस पनि गल्फ खेलाडी हुन् । युरोप, एसिया र अफ्रिकी मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीमाझ गल्फ लोकप्रिय छ । विश्वभर ‘गल्फ कूटनीति’ हुर्किंदै गइरहेको छ । विश्वका धेरै राजनीतिज्ञ गल्फ कोर्समै भेटिन्छन् । अनौपचारिक रूपले महत्वपूर्ण कूटनीतिक छलफल पनि गल्फ कोर्समा हुने गरेका छन् । गल्फ कोर्स मजबुत सम्बन्ध विस्तारको गतिलो फोरम बन्दै गएको छ ।तर, नेपाली राजनीतिक दलका नेताले गल्फ खेल्ने गरेको देखिँदैन । धेरै नेतालाई गल्फबारे जानकारीसमेत नहुन सक्छ । ८ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण क्लब पुगेर गल्फ सिकेका थिए । तर, उनले गल्फलाई निरन्तरता दिएनन् । गल्फ कोर्समा एकाधबाहेक नेताहरू नदेखिने गोकर्ण गल्फ क्लबका प्रशिक्षक दीपक आचार्यको अनुभव छ ।

गल्फ कोर्समा धाउने एकाध नेतामा पर्छन्, नेपाली कांग्रेसका नेता डा. रामशरण महत । गल्फप्रतिको उनको लगाव गज्जबकै छ । व्यस्त समयमा पनि उनी समय निकालेर गल्फ कोर्स धाउँछन् । प्रशिक्षक आचार्यका अनुसार देशको ढुकुटी सम्हाल्ने अर्थमन्त्री हुँदा पनि धेरैपटक डा. महत गल्फ खेल्न गएका छन् । सरकारमा रहँदा उनी गल्फलाई कम समय दिन्छन्, सरकारबाहिर रहँदा हप्तामा २–३ पटकसम्म गल्फ खेल्छन् ।

नेपालका प्रायः नेता गल्फ खेल्दैनन् । तन्दुरुस्तीका लागि बरु टेबलटेनिस र ब्याडमिन्टन खेल्छन् । मर्निङवाक जान्छन्, हेल्थ क्लब धाउँछन् । गल्फको महत्व बुझेकै छैनन् । गल्फको महत्व राम्रोसँग बुझेका डा. महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको गल्फ कोर्स धाउँछन् । उनले गल्फ खेल्न थालेको डेढ दशक नाघिसक्यो ।

‘म अरू खेल खेल्दिनँ, फुर्सद निकालेर गल्फ खेल्न जान्छु,’ डा. महत भन्छन्, ‘अहिले फुर्सद पनि छ, हप्तामा दुईपटक गल्फ खेल्छु ।’ उनको बुझाइमा गल्फ ‘पिसफुल जेन्टलमेन गेम’ हो । गल्फमा ‘हाई प्रोफाइल’ सहभागिता हुन्छ । दैनिक खेलिरहनुपर्दैन । व्यस्तताबीच पनि समय निकालेर गल्फ खेल्न सकिन्छ । ‘अम्योचर’का लागि हप्तामा २–३ दिन गल्फ कोर्स धाउँदा पर्याप्त हुन्छ ।

‘विश्वका नेतामाझ गल्फ लोकप्रिय भइसकेको छ,’ उनी भन्छन्, ‘नेपालका नेताले गल्फ खेलेको देख्दिनँ ।’ दैनिक खेलिरहनु नपर्ने हुनाले राजनीतिज्ञका लागि गल्फ उपयुक्त खेल पनि हो । वरिपरि हरियाली जंगल हुन्छ । गल्फ मैदानमा पनि घाँस उमारिएको हुन्छ । शान्त र स्वच्छ वातावरणमा आनन्दसँग रमाएर खेल्न पाइने हुनाले गल्फप्रति रुचि बढेको उनी बताउँछन् । कहिल्यै नभेटिएका साथीहरू गल्फ कोर्समा भेटिनु सुन्दर पक्ष हो, उनका लागि । सबैभन्दा राम्रो पक्ष, बुढो हुँदासम्म पनि गल्फ खेल्न सकिन्छ । अरू खेल उमेर ढल्किँदै गएपछि खेल्न सकिँदैन । ‘गल्फ मैदानको वातावरण र त्यहाँ हुने सहभागिताले आकर्षित गरिरहन्छ,’ उनले भने, ‘बिस्तारै खेले पनि गल्फबाट भौतिक र मानसिक कसरत हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *