झन्डा बिगार्ने कर्मचारीलाई स्पष्टीकरण

प्रदेश २ का प्रमुख सचिव, धनुषाका प्रजिअ, प्रदेश २ का कानुन मन्त्रालयका सचिव र जनकपुर उपमहानगरका प्रशासकीय अधिकृतलाई सरकारले स्पष्टीकरण सोधेको हो 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा रहँदा प्रयोग भएको नेपाली झन्डाको आकार र आकृति बिगारिएकोमा सरकारले सो कार्यमा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रयोग भएको नेपाली झन्डाको आकार र प्रकृति संविधानको अनुसूची १ ले तोकेको मापदण्डभन्दा भिन्न थियो ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारी र जनकपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले उनीहरूलाई ३१ वैशाखको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्पष्टीकरणमा जनकपुरमा प्रयोग भएको झन्डा निर्धारित स्वरूपभन्दा फरक भएको र त्यस्तो झन्डा महत्वपूर्ण कार्यक्रममा रहन दिनु भ्रमण व्यवस्थापनमा संलग्न कर्मचारीको गम्भीर लापरबाही भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *