औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो

नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

यो वर्ष उत्पादन थपिएको, भएका आयोजनाको किफायति संचालन तथा व्यवस्थापनकै कारण औद्योगिक क्षेत्रमा २४ घण्टा बिजुली आपूर्ति हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं।

योसँगै नेपाल अब पूर्णरुपमा लोडसेडिङमुक्त भएको उनको भनाइ छ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे। ्

त्यस्तै उनले बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता)उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *