‘कविता सँधै मानवको पक्षमा’

काठमाडौं वसन्तपुरस्थित शिव–पार्वती मन्दिरको चोकमा सँधै भीडभाड भइरहने गर्छ। यहाँ शनिबार दिउँसो पनि उस्तै घुँइचो थियो। यद्यपि यो भीड धेरै बेरसम्म रोकिएर ध्यानपूर्वक कविता सुन्दै थियो।

सन्दर्भ थियो, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) को पूर्वसन्ध्यामा एम्नेस्टी इन्टरनेशनल नेपालले मानवअधिकारका पक्षमा गरेको कविता अभियान। यसै कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालले पाँचजना विशिष्ठ नेपाली वाङ्मयसेवीलाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान पनि गरेको छ।

कविता अभियानमा बोल्दै वरिष्ठ कवि तुलसी दिवसले कविता सँधै मानवताकै पक्षमा रहने बताए। उनले थपे, ‘नारालाई पनि सुन्दर कवितामा ढाल्न सक्ने क्षमता कविहरूमा हुन्छ यसर्थ हाम्रा कविताले मानवताको आवाजलाई कलात्मक तवरले वकालत गर्दछन्।’ उनले आफ्ना दुईवटा कविता सुनाउँदै युवा पुस्ताका कविहरूको रचनाको पनि प्रशंसा गरे।

यससँगै कविहरू नवराज लम्साल, विप्लव प्रतिक, अनुपम रोशी, ज्योति जंगल, हरिमाया भेटवाल, अभय श्रेष्ठ, फूलमान बल, स्वप्नील स्मृति, नरेन्द्र कुमार नगरकोटी, निर्भीकजंग रायमाझी, विष्णु सन्यास, कलानिधि दाहाल, निराजन त्रिपाठी, सुरज सुवेदी लगायतले आ–आफ्ना कविता प्रस्तुत गरे।

‘मानवअधिकारका पक्षमा कविता अभियान’ नाम दिइएको यस कार्यक्रममा वरिष्ठ संस्किृतिविद् सत्यमोशन जोशी, कवि एवं संस्कृतिकविद् तुलसी दिवस, प्राध्यापक अभि सुवेदी, साहित्यकार तोया गुरुङ र प्राध्यापक बेञ्जु शर्मालाई एम्नेस्टी इन्टरनेशनलको मानार्थ सदस्यता दिइएको थियो। उनीहरूलाई संस्थाका अध्यक्ष राजनप्रसाद कुँइकेलले सदस्यता प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *