रूकुमेली माया

दुई साता लामो गुरिल्ला पदमार्गको यात्रामा धेरै कुरा सिक्न पाइयो। तिनै यात्राको यादहरूले रोमाञ्चित बनिरहेछु यतिखेर।

प्रकृति, संस्कृति र इतिहासको त्रिवेणिधामका रूपमा रुकुम चिनिएको छ। साबिकको रुकुम जिल्ला अहिले दुइटा बनेको छ–पूर्वी रुकुम र पश्चिम रुकुम। दसैंलगत्तै मित्र अमृत भादगाउँसँगै मैले दुई साता लामो ती जिल्ला भ्रमण गरेको थिएँ। पूर्वी रूकुमको भूमे गाउँपालिका प्रमूख कमरेड वीरता (रामसुर बुढामगर) को निम्तोमा हामी त्यता लागेका थियौं।

त्यसो त चौंथो पटक त्यहाँ पुगेको मलाई रूकुम नयाँ होइन। पर्यटन प्रवद्र्धनका यस्तै काम लिएर फेरि पनि जानेछु।

बिहानै ४ बजे पश्चिम रुकुमको सदरमुकाम खलंगामा बसबाट उत्रियौं। मिर्मिरे उज्योलामा स्यानो पसलमा ता–तातो चिया पिइसकेपछि रुकुमका पत्रकार  गणेश बिकले हामीलाई चर्चित डिग्रे शाई कुमारी मन्दिर दर्शन गराउन साथ दिए । मन्दिर घुमेर खलंगामा दालभात बजाएपछि हाम्रो पदयात्रा सुरु भयो, स्यार्पु तालतिर ।

गिलबाङ हुँदै ताल पुग्दा साँझ छिप्पिसकेको थियो । भिरालो भुगोलमा अवस्थित मुसिकोट बजार, सल्ले बिमानस्थल, सानी भेरिको नागबेली र सुन्दर बस्तिहरुको मनोरम दृश्य नियाल्दै करिब ५ घन्टाको चर्को हिँडाईपछि हामी तालमा पुग्यौं ।

 

स्थानीयले विसं २०६७ असोजमा महोत्सव आयोजना गरेसँगै धेरै सञ्चार माध्यममा स्यार्पू दहले चर्चा पायो । राती टर्चलाईट हामीले तालमा तेर्साउँदा पानी भरिभराउ थियो । भोलिपल्ट बिहान हामीले वरपर हरियाली गाउँ देख्यौं । काठमाडौंबाट घुम्न आएका ४ महिला र चौरजाहारिका २ युवाले सेल्फी खिच्दै आधुनिक डुंगामा सयर गरे । हामीले ताल र बरिपरिका तस्बिरी खिच्यौं, क्यामेरा र आफ्नै आँखाले ।

सामुदायिक लज र होमस्टेको सुविधा छ ताल छेउमा । त्यहाँ ठकुरी, दलित र पुरीका घरमा होमस्टे गराइन्छ । गाउँमा मकै, सिमि, बोडि उत्पादन हुन्छ भने गाउँलेले कुखुरा, बाख्रा, गाई, भैंसी र हाँस पालेका छन् । तालका माछा चाख्न पाइन्छ।

५२ पोखरी , ५३ टाकुरी

रूकुमकोटलाई ५२ पोखरी, ५३ टाकुरी पनि भनिन्छ । बिसं २०३० सालमा रुकुमको सदरमुकाम यहाँबाट मुसिकोट, खलंगा सरेको थियो । अहिले फेरि रुकुमकोटमा चहलपहल बढेको छ, कारण पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट कायम भएको छ ।

उत्तरमा सानी भेरी बगिरहेकी, अग्ला डाँडाले घेरिएका सानो समथल भुभाग र मध्य लोकमार्ग बीचबाटै क्रस हुन्छ । रुकुमकोटमा पूर्व राजा वीरेन्द्रकी बहिनी शोभा शाहीको विवाह भएकाले कुनै बेला यसलाई शोभा गाविस पनि भनिन्थ्यो ।

रुकुमकोटमा एउटा सुन्दर ताल छ । बर्खामा कमल फूलले ढकमक्क बन्छ । त्यसको बीचमा बराह मन्दिर छ । हामीले केही फूलका तस्बिर खिच्यौं । रुकुमकोटमा सहिद पार्क, भ्यु टावर र ताल वरिपरि पैदल मार्ग ब्यबस्थित गर्ने योजना सिस्ने गाउँपालिका प्रमुख कुमारी बरालले हामीलाई सुनाइन् ।

भर्खरै पूर्वी रुकुमको सदरमुकाम घोषणा भएसँगै कार्यालयहरु स्थापना, ब्यबस्थापन र शहरी पुर्बाधार बिकासको चटारो भएको निमित्त स्थानीय विकास अधिकारी चिन्तामणि दहालले सुनाए ।

रुकुमकोट नेपाल सरकारले घोषणा गरेका १० स्मार्ट सिटी मध्ये एक हो। शहर बनाउँदा तालको संरक्षणमा बिशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । साथै डुंगा सयर नगराउनु राम्रो होला । त्यसो भयो भने यहाँको जैविक विविधता जोगिन्छ । कमल फूललाई जोगाऔं ।

भुमेमा पाइला

पूर्वी रूकुमको भुमे गाउँपालिकामा पर्ने साकिम गाउँ। तस्बिरः सुरेन्द्र

काठमाडौंबाट हिँडेको चौथो दिन हामीले भुमे गाउँपालिका टेक्यौं। भुमे गाउँपालिका वडा नं. ४ साकिम गाँउ (१७०१ मि.) मगर र बिकको बसोबास रहेछ। केहीबेर त्यहाँ अडियौं, गाउँलेले हामीलाई अर्ग्यानिक काँक्रो, पोलेको मकै, ओखर र छयाङले स्वागत गरे ।

केही माथि सेराबाङ (१९९१ मि.) मा स्थानीयको न्यानो स्वागतसँगै नचरी र पैसरी नाच देखाए। गाउँ जति सुन्दर छ, त्यति नै सुन्दर रहेछन् गाउँलेहरु पनि  हामी त्यहाँ केही बेर भुल्यौं।

सेराबाङबाट करिब डेढ घण्टामा ओक बहादुर भाईले बेलुकि काँडा गाउँमा (१९६९मि.) पुर्‍याए। करिब ५५७ घरधुरि रहेको गाउँमा मगर, विक, क्षेत्रि र गुरुङको बसोबास रहेछ। मकै, गहुँ, धान, सुन्तला, केरा,  मेवा, हलुवावेद, मौसम यहाँका उत्पादन।

गाउँबाट सिस्ने हिमाल देखिन्छ। बाख्रा, भैंसी, भेडा, गाई, कुखुरा, हाँस परेवाहरु पालेका छन् गाउँमा । सिमी, दाल, मसुरो, गहत आदि उब्जनी हुने गर्छ । बिहान हामीले पैसरी र धंगे नाच हेर्‍यौ।

दिउँसो तेर्सो करिब २ घण्टा पदयात्रामा मोराबाङ गाउँ पुग्यौं । बरिपरि डाँडा, लुकुम(काँक्रि खोला, रुकुमकोट र परपर गाउँहरु देख्दा यात्रा रोचक बन्यो । जनयुद्वका बेला यी गोरेटाहरुमा गुरिल्लाहरु हिँड्थे, गाउँमा सेल्टर लिन्थे । तीनताका यो माओवादीको आधार इलाका रहेछ।

जनयुद्व कमिसारदेखि स्थानी प्रमुखसम्म

भुमे गाउँपालिकाका नवनिर्वाचित प्रमुख रामसुर बुढामगर। तस्बिरः सुरेन्द्र

भुमे गाउँपालिकाको केन्द्र सीमा गाँउ ( १७४६मि.) पुग्दा दिनको २ बजेको थियो । गाँउ पालिका प्रमुख श्री रामसुर बुढा र उप प्रमुख मनकुमारी बुढा विष्टहरूले हामीलाई फुलमालाले न्यानो स्वागत गरे। भुमे गाँउको अस्थायी सदरमुकाम रहेछ सीमा। लघु जलबिद्युतले गाउँ उज्यालो भएता पनि सञ्चारको सुबिधा छैन, मुश्किलले सिडिएमए फोनले काम गर्छ। गाउँपालिका प्रमुख बुढाले समाजिक अभियन्ता महावीर पुनको सहकार्यमा वायरलेस इन्टरनेट जडानको तयारी गरेको सुनाए। छिट्टै इन्टरनेट जोडिएपछि यसले कार्यालयको काममा सघाउ पुर्‍याउनेछ।

बुढाले चुनाव जित्नासाथ ज्येष्ठ नागरिक र सहिद परिवारलाई निःशुल्क उपचार प्रदान गर्ने घोषणा गरेका थिए। कृषि, पशुपालन, पर्यटन र विद्युत गाउँपालिकाका मुख्य आयश्रोत हुने देखेका छन् उनले । यसमा जोड दिई गाउँको जीवनस्तर उकास्ने उनको योजना छ ।

बुढा काँक्रीमा जन्मिए र विद्यार्थीकालमै १८ वर्षको उमेरमा जनयुद्वमा लागे। २०५२ फागुन १ गते माओवादी लडाकु गणेशमान पुनको नेतृत्वमा रुकुमको राडीचौकी आक्रमण गर्ने टोलीमा पनि सहभागि थिए। त्यही दिनदेखि माओवादीले जनयुद्व घोषणा भएको थियो।

१० वर्षे जनयुद्वमा वीरता पार्टीको बिभिन्न जिम्मेवार लिई मिलिशिया, जनमुक्ति सेना कमाण्डरहुँदै कमिसारसम्म बनेका थिए। माओवादी जनयुद्व उत्कर्षमा पुगेका बेला पश्चिमबाट १३७ जना छापामारको नेतृत्व गर्दै कयौं दिन लगाएर उनी पूर्व आक्रमण गर्न हिँडे।  ‘देशमा शान्ति स्थापना भयो, हिजो शसस्त्र क्रान्ति गरियो, अब आर्थिक क्रान्तिको बाटोमा लाग्नुपर्छ’, उनले भने, ‘शान्तिको बाटोबाट देश र जनताको सेवामा जीवन सर्मपण गर्नेछु ।’

झुम्लाबाङ घुम्दा

झुम्लाबाङ गाउँ।

झुम्लाबाङ (२३१५ मिटर) गाउँमा मगर, नेवार, गुरुङ,ठकुरी,क्षेत्री र दलितको बसोबास छ। करिब तीन सय वर्ष अघि यो ठाउँमा गुल्मिको भारसेबाट बुढा, बागलुङको गल्कोटबाट राना र भक्तपुरबाट नेवारहरू बसाई सरेर आएको स्थानीय शिक्षक होमजङ रानाले बताए। पश्चिममा चालनेता (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अबशेष छन्, उत्तर चम्बाङमा धार्मिकस्थल छ। पूर्वतिर रामली चौर छ जहाँबाट काँक्री, महत, लुकुम, र अन्य भूभाग देखिन्छ ।

तामाखानी रहेको र पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्छ। झुम्लाबाङ भिलेज फाउण्डेशनले गाउँमा सामुदायिक अस्पताल, साँस्कृतिक भवन र अर्थ ब्याग स्कुल भवन निर्माण गरेको संस्थाका अध्यक्ष  रामबहादुर बुढा मगरले देखाए ।

झुम्लाबाङ सेरोफेरोमा सुन्दर टोलहरु गोठबाङ, टुनबाङ र खसिबाङ छन् । झुम्लाबाङमा स्वादिस्ट दिवा भोजनपछि हामी करिब दुई घन्टा जंगलको बाटो हिँडेर क्याङ्सी पुग्यौं।


जनवादी स्कुल

क्याङ्सी गाउँमा माओवादीले जनवादी स्कुल सञ्चालन गरेको थियो। त्यहाँ जनमुक्ति सेनाको तालिमस्थल चौर रहेछ। हामीले बंकरका अवशेष पनि देख्यौं। छिपखोलाबाट २०६१ सालमा सारेको क्याङसीको बासु निमाविलाई २०६८ सालमा सरकारी स्कुलमा गाभिएको रहेछ। जनयुद्वमा यो स्कुलमा सहिद परिवार, घाइते, अपांग, टुहुरा टुहरी र जनमुक्ति सेनाका बाल बच्चा पढ्थे ।

हामीलाई क्याङ्सीमा गाउँका वडाध्यक्ष दिलमान रोकाले घुमाए। उनले पुरानो भवनमा जनवादी पुस्तक, कम्प्युटर र पर्चा देखाए। यी ऐतिहासिक सामान संग्रह गरी संग्रहालय बनाउन सके भावी पुस्तालाई राम्रो कोशेली बन्न सक्छ ।

भूमेमा झुम्दा

महत गाँउ (१९३५ मि.) लश्करै मिलेको मगर, दलित र क्षेत्रिहरू बसोबास गर्छन । महत द्वन्द्वकालमा रूकुम जिल्लाभरि सबैभन्दा धेरै मानव क्षति बेहोरेको र डिएसपी ठूले राई कब्जा गरिएको ठाउँ हो। त्यहाँ बंकरका अवशेष छन्।

गाउँबाट सिस्ने हिमाल दर्शन गर्न सकिन्छ। महत हुँदै शहिद मार्गबाट रोल्पाको घर्तिगाउँ, चुनबाङ, महतहुँदै थबाङ जान सकिन्छ। गाउँलेहरु दिउँसो पैसरी, धँगे र भुमे नाच नाचे । महिला, पुरुष र युवा परम्परागत पहिरनमा थिए । हामी पनि उनीहरुसँग केही बेर नाच्यौं ।

गाउँलेसँग तालमा ताल मिलाई नाच्दा मजा आयो।

भोलिपल्ट हामी जनयुद्वकी पहिलो महिला सहिद धन माया (श्रेष्ठ) बुढाको काँक्री गाँउ (१९५० मि.) पुग्यौं । त्यहाँ सहिद पार्क, जनजाति संग्रहालय छ । काँक्रीमा सशस्त्र द्वन्द्वमा १८ जना सहिद भए। मगर र दलित बसोबास गर्ने गाउँमा प्रसस्त मात्रमा मकै, गहुँ, सिमि, फर्सि, जडिबुटी फलाइन्छ । प्रदिप दाईले हामीलाई गाउँमाथिको अग्लो झरना देखाउन लगे। गाउँ पनि डुलाए।


लुकुमका झाँक्री

हामी त्यो साँझ भूमे गाउँपालिका–१ लुकुम पुग्यौं। लुकुम मगरहरुको घना बस्ति भएको गाउँ हो जहाँ दलित र गुरूङका केही घर पनि छन्। गाउँमा ५७० भन्दा बढी घर छन्। थबाडबाट गुरिल्ला पदमार्ग रूझिखोला हुँदै लुकुम, सेरा भएर ढोरपाटनतिर निस्कन्छ।

मध्य पहाडी लोकमार्ग बाग्लुङबाट बुर्तिबाङ, काँक्रीहुँदै रुकुमकोटबाट मुसिकोट जोडिँदो रहेछ। बिहानीपख वडाध्यक्ष रामचन्द्र पुनले झाँक्री तयार पारे। हामीले फोटा खिच्यौं र सुन्दर गाउँ डुल्यौं। गाउँमा ९० जना भन्दा धेरै झाँक्री छन् जसमा ३० जना महिला छन् ।

स्राउने संक्रान्तिमा यहाँ झाँक्रिको ठूलो मेला लाग्छ, जहाँ सयौं झाँक्री केही दिनसम्म नाच्ने गर्छन्। ‘कुनै दिन यो मेला हेर्ने आउनुपर्ला’, अमृतजीले भने । राम्रोसँग ब्राण्डिङ गरि प्रचार गर्न सके बिदेशीको पनि घुइँचो लगाउन सकिन्थ्यो ।

मगर बाहुल्य क्षेत्र पूर्वी रोल्पा र पूर्वी रूकुममा असार पहिलो साता हप्तौदिनसम्म धुमधामले भूमे पर्व मनाइन्छ। यो क्षेत्रको ठूलो चाड नै भूमे हो।

भूमे गाँउपालिकाको यात्रा बिट मार्दै हामी करिब ३ घण्टा उकालो चढेर गुरिल्ला पदमार्गतिर सोझियौं। दिन छिप्पिँदै थियो, उकालो चढ्दै गर्दा घामले पोल्यो, यात्रामा साथ दिए लुकुमका बिजय भाइले। ठाउँठाउँमा पदमार्ग सांकेतिक चिन्ह कोर्दै यात्रा अघि बढायौं।

टन्टलापुरे घाममा उकालो हिँडाईले मित्र अमृतजी ‘मर्ने भईयो भन्दै थचक्कै बसे।’ मेरो हाँसोका खित्का थामिएन। केहीबेर थकाई मार्दै बिसाउँदै उकालिदै गर्दा, एक हुल जन्ति टोली भेट्यौ। रूझिखोलादेखि घुम्लिबाङ उक्लिदै थिए उनीहरू। तिला धुरी (३,१००मि.) एकछिन थकाई मार्दै, लुकुमबाट ल्याएको भुटेको मकै चपाइयो, जन्ती टोलीसँग रोटी साटासाट गरियो । मदो पनि चाखियो।

करिब साढे २ घण्टा ओरालो घना जंगलको बाटो हुँदै साँझ उपल्लो सेरामा सुनारको होटलमा पुग्यौं । नजिकै तल्लो सेरा पर्छ, खोला पारी  तक गाँउ र बाछिगाँउ, बीचमा उही सानी भेरी ।

 

 महिना ढोर महिना औल

काठमाडौं छाडेको १० दिन भैसकेको थियो, अझै केही दिन बाँकी थियो छिचोल्न। अन्तिम गन्तव्य ढोरपाटन । सेराबाट सानी भेरीको तिरैतिर पूर्वतिर लाग्यौं। तिला धुरीबाट हामी पुथा उत्तरगंगा गाउँपालिका छिरिसकेका थियौं । ढोरपाटन जोड्न सडक ट्रयाक दम्चनसम्म खनिएको रहेछ।

घुम्लीबाङको बस्ति पारी हामी वारी हुँदै जंगलको बाटो छिचल्दै, रूकुमको अन्तिम गाउँ टुपामा पुग्यौं। त्यहाँ कामी दाइका घरमा आलुले भोक मेटाएपछि फेरि बाटो ततायौं ।

‘तीन घन्टा लाग्छ निशेल ढोर पुग्न’, बाटामा भेटिने जतिले त्यसै भने । ६ घन्टामा त पुगौंला भन्ने भयो। हिम्मत नहारी ढोरपाटनको कहिले हल्का उकालो, जंगल र तेर्सो बाटोहुँदै यात्रा अघि बढायौं । झम्के साँझमा २–४ घर देखियो, आशा पलायो। हामी निशेल ढोर पुग्यौं।

बाटामा भेटिएको एक जना यात्रीले गाउँमा बंगुर काटेको खबर सुनाएका थिए। साँझ बंगुरको मासु र भात खाने निधो गरियो परैबाट। ढोरका घरमा बास पाइन्छ । हामी बंगुर काट्ने पबिको घर पुग्यौं। सरल र इमान्दार हुन्छन् गाउँले ।

तीन सन्तानका अभिभावक रहेछन् पवित्रका दम्पत्ति। उनीहरु बेसी निसी गाउँ झर्ने तयारीमा थिए । भन्थे, ‘डिंगा बस्तु पठाईसकियो, अब दुई चार दिनमा घर चाबी लगाएर औल झछौं।’

अनि एकैचोटी फागुनमा उकालो लाग्ने सुनाए। काखको कान्छी छोरी खेलाउँदै थिइन् पवित्रा । उनका श्रीमान खाना बनाउन व्यस्त भए।

हिउँदमा केही मानिस यतै बस्छन्। घरबारी रेखदेख गर्छन्। हिउँदमा ढोरपाटन हिउँले ढाक्छ। सेताम्मे हिउँ परेका बेला महिना दिन जति लेकमै बस्दा कस्तो होला भनेर कल्पन्थे भादगाउँलेजी।

ढोरका मानिस हिउँदमा निसि वा बोबाङ झर्छन्। बर्खामा गाईबस्तु, भेडा लगायत झिटी झाम्टा लिएर उकालो चढ्छन्। ढोरमा आलु, मकै, स्याउ, बोडी, सिमी लगाउँछन्, बेसिमा धान।

हामीले बाटाभरि बेसि झर्नेको लर्को भेट्यौं । डोकोमा लत्ता कपडा, कुखुरा, चल्ला, गाई, भैसी, बच्चा केटाकेटी, हतारिँदै बेसि झर्दै गरेको देखिन्थे। कुकुर र घोडा अघि अघि, गज्जबको क्यारभान देखियो।

ढोरपाटन शिकार आरक्ष कार्यालय भ्रमण गरी केही सुचना संकलन गरि म्युजियम अवलोकन गरियो। जलजलाहुँदै बेनी निस्कन अझै तीन दिन लाग्ने भयो। तिहारको मुखमा बाटो छोट्याउने निधो गरियो। हामी बुर्तिबाङहुँदै काठमाडौं फर्कने सोच बनायौं।

यात्राको बिट मार्न उत्तर गंगाबाट साढे २ घण्टा ओरालो हिँडेर बागलुङको सुप्राङ पुगियो। बिहान जिपमा बोबाङहुँदै बुर्तिबाङ झर्‍यौं। रूकुम र गुरिल्ला पदमार्गका सुन्दर यादहरू पोको पारेर हामी दिउँसो काठमाडौं जाने बस चढ्यौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *