बम विस्फोटमा मारिएका म्यादी प्रहरीलाई शहिद घोषणा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले दाङको तुलसीपुरमा आयोजित पार्टीको चुनावी सभामा भएको विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीलाई शहिद घोषणा गर्न माग गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनको बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीको निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई तत्काल शहीद घोषणा गर्न माग गरेको हो।

मंगलबार कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने आमसभा नजिकै बम विस्फोट हुँदा चौधरी घाइते भएका थिए। उनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो।

कांग्रेसले लोकतन्त्रविरोधी तत्वले बम विस्फोट गराएको बताएको छ। ‘कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अत्तालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरूलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरूले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरू दोहोर्‍याई रहनु अत्यन्त दुःखद विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्।’

समितिले निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोवल उच्च बनाउनुका साथै आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै अन्य घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *