‘काँग्रेसका इमान्दार कार्यकर्ताको पनि सहयोग पाएको छु’ – महरा

 

दाङ – उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का बाम उम्मेदवार कृष्णबहादुर महराले आफू सिंगो दाङबासीको साझा उम्मेद्वार भएको बताएका छन् । बिजौरीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले आफू बाम गठबन्धनको उमेद्वार भए पनि मत भने सबै दलसँग आस्था राख्ने मतदाताबाट पाउने बताए ।

दाङमा नौ वटै सिटमा गठबन्धनले जित्ने दाबी गर्दै उनले आफूलाई इमान्दार कांग्रेसको पनि प्रत्यक्ष सहयोग रहेको बताए । दाङ प्रदेश राजधानी आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट गर्दै उनले पश्चिम नेपालको केन्द्र पनि दाङ बन्ने बताए । प्रदेश राजधानी बनाउन बाम गठबन्धनका सबै उमेद्वारले जित्नुपर्ने पनि उनले बताए । आफू अर्थमन्त्री हुँदा दाङमा पाँच अर्ब बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले अझै गर्न धेरै बाँकी रहेकाले आफूले योजनाबद्ध विकास गर्ने बताए ।
प्रदेशसभा सदस्य उम्मेदवार अमरबहादुर डाँगीले जनताको समृद्धिका लागि गठबन्धनले जित्नुपर्ने बताए । उनले जनता सचेत भइसकेकाले कसैले भ्रम छर्न जरुरी नरहेको बताए । महरा र डाँगीले बिहीवार बिजौरी, बनकट्टा, नारायणपूर, दूधराश, मग्जैलगायतका स्थानमा आयोजित चुनावीसभालाई सम्वोधन गरेका थिए । बिजौरीमा भएको कार्यक्रममा समाजसेवी वीरबहादुर पुनको नेतृत्वमा १३ जना पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहलाई महराले स्वागत गरे ।

खत्री बन्धु र महरा समाजद्वारा स्वागत

यसैबीच बिहीवार महरालाई लामिछाने खत्री गर्ग गोत्र र महरा एकता समाज दाङले स्वागत गरेका छन् । उनीहरुले छुटछुट्टै कार्यक्रम गरी स्वागत गरेका हुन् । लामीछाने खत्री गर्ग गोत्रका अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महराले एकपटक आफूले अध्ययन गरेको, आफूले एकपटक चुनाव जितिसकेको र फेरि चुनाव लडेको दाङ आफ्नो सबैभन्दा भरपर्दो कर्मथलो भएको बताए ।

सयौं आफन्तमाझ भावुक हुँदै महराले आफूलाई चुनाव जितेर गएपछि नफर्कने हो कि भनेर धेरैले प्रश्न गरेको उल्लेख गर्दै भने, – ‘एक जना बहिनीले त निकै मालाको भारी लिएर आउनुभएको रहेछ, अहिले यति माला किन लिएको भनेको त उहाँले अब चुनाव जितेपछि आउनुहुुन्न होला, अहिले नै लगाइदिन्छु पो भन्नुभयो, यसले मलाई थप भावुक बनायो ।’

२०६४ सालमा दाङबाटै चुनाव जिते पनि त्यसपछि निरन्तर संविधान निर्माण र शान्ति प्रक्रियामा लाग्नुपरेकाले आफू कम आएको उल्लेख गर्दै अब हरेक महिनाको पाँच दिन आफ्नै क्षेत्रका मतदातासँग बस्ने वाचा गरे ।
नेता महराले आफूलाई दाङमा चुनाव लड्न गठबन्धनले मात्र नभई स्थानीय कांग्रेसका नेता कार्यकर्ताले पनि माग गरेको खुलासा गरे । ‘म गठबन्धनको उम्मेदवार हुँ नै, कांग्रेसका धेरै नेता कार्यकर्ताले पनि मलाई दाङबाटै चुनाव लड्न दबाब दिएका थिए, उनीहरु अहिले सम्पर्कमै छन् र आन्तरिक प्रचारमा पनि लागेका छन् ।’ अहिले दाङमा चुनाव लडेका नेतामध्ये आफूलाई सबैले नेताको पनि नेता मानेकाले आफूले पनि सोही अनुसार दायित्व पूरा गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *