झापामा बम आतंक: २० जना पक्राउ

सुरुङ्गा – झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् ।

भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरेको जनाए पनि उम्मेदवारलाई लक्षित गर्दै बम विस्फोट गराउने कार्यले शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ । चन्द्रगढीस्थित सिटौलाको घरमा सोमबार राति १२ः४७ बजेको समयमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको सदरमुकाम चन्द्रगढीमै सिटौला निवास रहेको छ । सिटौला घरको सुरक्षार्थ पाँच जना प्रहरी परिचालन भए पनि उहाँको घरमा सोमबार राति बम प्रहार भएको थियो ।

त्यस्तै कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घरमा पनि बम फेला परेको छ । उनको घरमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार नै निष्क्रिय गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा पनि बम विस्फोट गराइएको थियो भने नेपाली काँग्रेस झापा सभापति तथा झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उद्धव थापाको घरमा पनि बम विस्फोट गराइएको थियो ।

वम विस्फोटका कारण थापाको घरमा राखिएको बोलेरो जिपमा क्षति पुगेको छ भने सिटौला र ओलीको घरमा सामान्य मात्र क्षति पुगेको बताइएको छ ।

थप सुरक्षा रणनीति अपनाएका छौँ : प्रजिअ 

उम्मेदवारलाई लक्षित गर्दै शृंखलाबद्धरुपमा एकपछि अर्को घटना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापाको सुरक्षा व्यवस्थालाई अझ मजबुत राख्न थप सुरक्षा रणनीति अपनाएको बताएका छन् ।

दिनहुँजसो झापामा उम्मेदवारलाई लक्षित गर्दै वम विस्फोट हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा रणनीति अपनाएको र सोहीबमोजिम आफूहरु अघि बढेको उनको भनाइ छ ।

निर्वाचनलाई लक्षित गर्दै एक सातायता विभिन्न गतिविधिमा संलग्न २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *